T20WC : न्युजिल्यान्ड बिरुद्ध भारतको ब्याटिंग फ्लप

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गत खेलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिम आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ११० रन बनाउदै न्युजिल्यान्डलाई १११ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको ब्याटिंगमा रभीन्द्र जडेजाले सर्वाधिक २६ रन, हार्दिक पान्ड्याले २३ रन बनाए भने केएल राहुलले १८, रोहित शर्माले १४, रिशभ पन्तले १२, बिराट कोहलीले ९ तथा इशान किशनले ४ रन बनाए।

भारतको सुरुवात राम्रो रहन सकेन। पावरप्लेको ६ ओभरमा इशान किशन र केएल राहुल आउट हुँदा उसले मात्र ३५ रन बनाउन सक्यो। त्यसपछि पनि भारतको विकेट पतन रोकिएन। रोहित शर्मा आठौँ र बिराट कोहली एघारौं ओभरमा लेग स्पिनर इश सोढीबाट क्याच आउट भए। पाँचौ विकेटको लागि रिशभ र हार्दिकले २२ रन जोडे। पन्ध्रौँ ओभरमा पन्तलाई एडम मिल्नेले बोल्ड गरे। पान्ड्या र जडेजाले छैठौं विकेटको लागि २४ रन जोडे। उन्नाईसौं ओभरमा पान्ड्या र शार्दुल ठाकुरलाई ट्रेन्ट बोल्टले क्याच आउट पारे। अन्तिममा रभीन्द्र जडेजाले केहि आक्रामक सट खेल्दै सम्मानजनक योगफलतर्फ डोर्याए। अन्तिम ५ ओभरमा भारतले २ विकेट गुमाएर ३७ रन बनायो।

न्युजिल्यान्डको बलिंगमा ट्रेन्ट बोल्टले सर्वाधिक तिन विकेट ( ४-०-२०-३ ) लिए भने  इश सोढीले दुई विकेट ( ४-०-१७-२ ) लिए। टिम साउदी ( ४-०-२६-१ ) र एडम मिल्नेले एक विकेट ( ४-०-३०-१ ) लिए।

प्रतियोगिताको पहिलो खेलमा भारत र न्युजिल्यान्ड दुवै पाकिस्तानसंग पराजित भएका हुन्। भारत १० विकेटले तथा न्युजिल्यान्ड ५ विकेटले पराजित भएको थियो। पाकिस्तानले लगातार ३ जितको साथ सेमीफाइनल यात्रा लगभग सुनिस्चित गरिसकेको अवस्थामा भारत र न्युजिल्यान्ड बीच खेलको विजेता सेमीफाइनल पुग्ने सम्भावना बढी छ। किनकि अब दुवै टिमको आगामी खेलहरु तुलनात्मक रुपमा सजिलो टिम अफगानिस्तान, स्कटल्याण्ड र नामिबियासंग रहेको छ। त्यसैले आज जित्नु दुवै टिमको लागि महत्वपूर्ण छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy