टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल क्वालीफायर खेल्ने भएको छ।

टि-२० विश्वकप २०२२ मा कुल १६ टोलि सहभागी हुँदैछन् जसको लागि १२ टोलिको टुंगो लागिसकेको छ। आयोजक अस्ट्रेलिया सहित इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अफगानिस्तान, बंगलादेश सुपर-१२ चरणको लागि स्वतः छनोट भैसकेका छन् भने समुह चरणको लागि वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्ड पनि छनोट भैसकेका छन्। त्यस बाहेक बाँकी ४ टिमको टुंगो लगाउन आईसीसीले दुई वटा ग्लोबल क्वालीफायर आयोजना गर्दैछ।

ग्लोबल क्वालीफायरमा कुल १६ टोलि सहभागी हुँदैछन्। १६ टिमलाई दुई वटा समुहमा बिभाजन गरेर दुई वटा ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ। ग्लोबल क्वालीफायर ‘ए’ २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ भने  ग्लोबल क्वालीफायर ‘बि’  २०२२ जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा आयोजना हुनेछ। दुवै ग्लोबल क्वालीफायरमा उत्कृस्ट हुने दुई/दुई टिम २०२२ टि-२० विश्वकपमा छनोट हुनेछन्।

ओमानमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘ए’ मा नेपाल सहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्याण्ड, युएई, जर्मनी, क्यानडा, बहराईन र फिलिपिन्स सहभागी हुनेछन्।  यस्तै जिम्बाब्वेमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘बि’ मा आयोजक जिम्बाब्वे सहित अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग सहभागी हुनेछन्। सबै टिमले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम थाहा हुनेछ।

नेपालको समुहमा भर्खरै टि-२० विश्वकप खेलेको टिम ओमान र आयरल्याण्ड हुँदा उत्कृस्ट दुई हुन नेपाललाई पक्कै सहज हुनेछैन। उत्कृस्ट दुई हुन नेपालले दुई सबैभन्दा बलियो टिम मध्ये कम्तिमा एउटालाई पराजित गर्नुपरे हुन सक्छ। त्यस बाहेक युएईले पनि नेपाललाई चुनौती दिन सक्छ। तर अन्य टिम जर्मनी, क्यानडा, बहराईन र फिलिपिन्स भने नेपालको लागि सहज प्रतिद्वन्द्वी हुनेछ। त्यसैले ग्लोबल छनोटमा नेपाल, ओमान, आयरल्याण्ड र युएई बीचको खेलको नतिजामा सबैको ध्यान हुनेछ।

प्रतियोगिताको लागि नेपालले छिट्टै तयारी थाल्नेछ। यो साता भित्र प्रमुख प्रशिक्षकको टुंगो लागेपछि टिमले अधिकारिक प्रशिक्षण थाल्नेछ। तथापी व्यक्तिगत रुपमा भने खेलाडीहरुले अभ्यास सुरु गरिसकेका छन्।

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टि-२० विश्वकप खेलेपछि नेपाल टि-२० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टि-२० विश्वकप क्वालीफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टि-२० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो। यस पटक भने नेपाल टि-२० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy