ऐरीले विश्वकप छनोट गुमाउने सम्भावना

२०८० कार्तिक १३, सोमबार १९:३२

टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालले सिंगापुरविरुद्ध विजयी सुरुवात गरेको छ । तर, सँगसँगै नेपाली टिमलाई ठूलो धक्का लागेको छ । टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी चोटका कारण केही दिन मैदान बाहिर हुने भएका छन् ।

दीपेन्द्र आजको म्याचअघिसम्म सकुशल थिए । उनलाई प्लेइङ ११ मा समेत समावेश गरिएको थियो । टसपछि मैदानमा अभ्यास गर्ने क्रममा उनलाई गोलीगाँठामा चोट लाग्यो । त्यसपछि उनले खेल्न सकेनन् । दीपेन्द्रको स्थानमा हतारमा विवेक यादवलाई टीममा समावेश गरिएको थियो । यद्यपि, विवेकले बलिङ र ब्याटिङ दुवै गर्न पाएनन् ।

घाइते भएपछि दीपेन्द्रलाई टीयु ग्राउन्डबाट मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणको रिपोर्ट सुखद नआएको स्रोतले बताएको छ । डाक्टरहरूले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । स्वास्थ्य परीक्षणपछि उनी वैशाखी टेकेर अस्पतालबाट टीयु ग्राउन्ड आएका थिए ।

विश्वकप क्वालिफायर एक हप्तामात्र चल्ने प्रतियोगिता हो । दीपेन्द्रको खुट्टा ठिक हुन केही समय लाग्ने भएकाले उनले पूरै प्रतियोगिता गुमाउने देखिएको छ । कम्तिमा पनि दिपेन्द्रले भोलि दिउँसो हुने मलेसियासंगको खेल गुमाउने निश्चित छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy