T20WC : भारतको दोश्रो हारपछि बिराट कोहलीले के भने

२०७८ कार्तिक १५, सोमबार ००:४३

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणमा लगातार दोश्रो हारपछि भारतको सेमीफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा पाकिस्तानसंग १० विकेटले पराजित भएको भारतको दोश्रो खेलमा पनि प्रदर्शन सुधार हुन सकेन। टस हारेर पहिले ब्याटिंग गरेको भारतले ११० रन मात्र बनाउन सकेपछि १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर ३३ बल बाँकी रहँदै भेटायो। भारतले टि-ट्वान्टी विश्वकपमा न्युजिल्यान्डसंग खेलेको तिनवटै खेलमा हार बेहोरेको छ।

हारपछि भारतीय कप्तान बिराट कोहली आफ्नो टिमले बहादुरी देखाउन नसकेको बताए -“निकै खल्लो दिन रह्यो। हामिले ब्याट र बल दुवैबाट बहादुरी देखाउन सकेनौं। रक्षा गर्न हामिसंग योग्य योगफल थिएन।”

पहिलो इनिंग्समा ब्याट्सम्यानहरुले सटको प्रयास गर्दा प्रत्येक पटक विकेट गुमेको उनले बताए – “प्रत्येक पटक जब हामीले प्रयास गर्यौं तब विकेट गुमायौं। यस्तो तब हुन्छ जब तपाईमा ठूलो सटको लागि जाने या नजानेमा दोधार हुन्छ।” खेलमा भारतको लागि रभीन्द्र जडेजाले सर्वाधिक २६ तथा हार्दिक पान्ड्याले २३ रन बनाए। कोहलीले १७ बल खेल्दा मात्र ९ रन बनाउन सके। प्राय सबै भारतीय ब्याट्सम्यानहरु ठूलो सट खेल्दा आउट हुन पुगे।

लगातार हारको पछाडी समर्थकहरुको अपेक्षाको दबाब हो भन्ने प्रश्नमा कोहलीको जवाफ थियो – “जब तपाईं भारतको लागि खेल्नुहुन्छ तपाईमाथि धेरै अपेक्षाहरु हुन्छ। फ्यानहरुबाट मात्रै हैन खेलाडीहरुबाट समेत। त्यसैले तपाईमा सधै दबाब हुन्छ र त्यही अपेक्षाहरुलाई मध्यनजरमा राखेर खेल्ने गर्छौं। तर हामीले पछिल्लो दुई खेलमा टिमको रुपमा प्रदर्शन गर्न सकेका छैनौँ त्यसैले हार व्यहोरेका छौँ। आउने खेलहरुमा हामि सकारात्मक खेल्दै हामीले आफैमा विश्वास देखाउनु पर्छ। र आगामी खेलमा राम्रो प्रदर्शन गर्नेमा ध्यान दिनुपर्छ।”

दुई हार पछि पनि कोहलीले आफ्नो टिम सकारात्मक हुँदै अघि बढ्ने बताए – “हामीले फिल्डिंग गर्दा शारीरिक भाषा कमजोर थियो, न्युजिल्यान्डमा बढी बिपरित थियो। अब हामीले यसलाई भुल्दै आफ्नो प्रक्रियामा विश्वास गर्दै सकारात्मक क्रिकेट खेल्नुपर्छ। हामीले प्रतियोगितामा अझै धेरै क्रिकेट खेल्न बाँकी छ।”

प्रतियोगिता अन्तर्गत भारतले आगामी खेल नोभेम्बर ३ तारिखमा न्युजिल्यान्डसंग, नोभेम्बर ५ तारिखमा स्कटल्याण्डसंग तथा नोभेम्बर ८ तारिखमा नामिबिया बिरुद्ध खेल्नेछ। सेमीफाइनल पुग्न भारतले तिन वटै खेलमा जित दर्ता गर्दै अन्य टिमको नतिजामा पनि भर पर्ने पर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy