T20WC : नामिबिया बिरुद्ध अफगानिस्तानको सहज जित, यस्तो छ अंकतालिकाको अवस्था

२०७८ कार्तिक १४, आईतवार १९:१६

एकतर्फी खेलमा नामिबियालाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै अफगानिस्तानले टि-२० विश्वकपको सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को दोश्रो स्थानमा यथावत रहेको छ। तिन खेल खेल्दा अफगानिस्तानले २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेको छ।

शेख जायद स्टेडियम अबुधाबीमा अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा ९८ रन मात्र बनाउन सक्यो। नामिबियाको ब्याटिंगमा डेभिड विजेले सर्वाधिक २६ रन, लफी इटनले १४, जेरार्ड इरास्मसले १२, रुबेन ट्रंपलम्यानले अविजित १२ तथा माइकल भान लिंगेनले ११ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको नामिबियाले पहिलो ४ विकेट ३६ रनको स्कोरमै गुमाउन पुग्यो। त्यसपछि डेभिड विजेले एक किनार सम्हालेता पनि अन्य ब्याट्सम्यानहरुले लामो साथ दिन सकेनन्।

अफगानिस्तानको बलिंगमा पेसरद्वय हमिद हसन ( ४-०-९-३ ) र नभिन उल हकले ( ४-०-२६-३ ) समान तिन विकेट लिए। गुल्बदिन नैबले दुई ( ४-१-१९-२ ) तथा राशिद खानले एक विकेट ( ४-०-१४-१ ) लिए। हसनले अनफिट मुजिब उर् रहमानको स्थानमा मौका पाएका थिए। सन् २०१६ पछि हसनले पहिलो पटक देशको लागि टि-२० अन्तर्राष्ट्रिय खेलेका हुन्।

यस अघि टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट क्षेतीमा १६० रन बनाएको थियो। अफगानिस्तानको ब्याटिंगमा ओपनर मोहम्मद शाहजादले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर हज्रतुल्लाह जजाईले ३३, अस्घर अफ्घानले ३१ तथा कप्तान मोहम्मद नाबीले अविजित ३२ रन बनाए। नामिबिया बलर रुबेन ट्रंपलम्यान ( ४-०-३४-२ ) र लफी इटनले ( ४-०-२१-२ ) ले समान दुई तथा जेजे स्मितले १ विकेट लिए।

अंकतालिका : जितपछि अफगानिस्तान ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंक सहित सुपर १२ अन्तर्गत समुह ‘२’ अंकतालिकाको दोश्रो स्थानमा यथावत छ। नामिबिया दुई खेलमा एक/एक जित र हार पछि २ अंक सहित तेश्रो स्थानमा यथावत रहेको छ। भारत, न्युजिल्यान्ड र स्कटल्याण्ड अंकविहिन रहेका छन्। अफगानिस्तानले आगामी खेल नोभेम्बर ३ मा भारतसंग तथा नोभेम्बर ७ मा न्युजिल्यान्डसंग खेल्नेछ। नामिबियाले नोभेम्बर २ मा पाकिस्तानसंग, नोभेम्बर ५ मा न्युजिल्यान्डसंग तथा नोभेम्बर ८ मा भारतसंग खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy