T20WC : बंगलादेश पहिलो चरणबाटै बाहिर, दक्षिण अफ्रीकाको तेश्रो जित

२०७८ कार्तिक १६, मंगलवार १८:५४

सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गत लगातार चौंथो हार बेहोर्दै बंगलादेश एक खेल अगावै टि-ट्वान्टी विश्वकपको पहिलो चरणबाटै बाहिर भएको छ। बंगलादेश श्रीलंकासंग ५ विकटले, इंग्ल्यान्डसंग ८ विकेटले, वेस्टइन्डिजसंग ३ रनले पराजित भएको थियो।

शेख जायद स्टेडियम अबुधाबीमा ६ विकेटको जित दर्ता गर्ने क्रममा बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रीकाले १३.३ ओभरमा ४ विकेट गुमाएर भेटायो। दक्षिण अफ्रीकाको ब्याटिंगमा कप्तान तेम्बा बभुमाले सर्वाधिक अविजित ३१ रन बनए भने रसि भान डर डुसेनले २२ तथा क्विन्टन डीककले १६ रन बनाए।

३३ रनमा ३ विकेट गुमाएको अवस्थामा भान डुसेन र बभुमाले ४७ रनको साझेदारी गरे तेह्रौं ओभरमा डुसेनलाई नसुम एहमदले क्याच आउट पार्दा दक्षिण अफ्रीका जित नजिक पुगीसकेको थियो। बंगलादेश बलर तास्किन एहमदले दुई ( ४-०-१८-२ ) तथा मेहदी हसन ( ३.३-०-१९-१ ) र नसुम एहमदले ( २-०-२२-१ ) ले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेश १८.२ ओभरमा ८४ रनमै समेटियो। उसको लागि मेहदी हसनले सर्वाधिक २७, लिटन दासले २४, शमिम होसेनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ४५ रनमा ६ विकेट गुमाएको अवस्थामा होसेन र हसन ले सातौँ विकेटको लागि इनिंग्सकै सर्वाधिक १९ रनको साझेदारी गरे।

दक्षिण अफ्रिकी बलर कागीसो रबाडा ( ४-०-२०-३ ) र एनरिक् नोर्कियाले ( ३.२-०-८-३ ) समान तिन विकेट, तब्रेज शाम्सीले दुई विकेट ( ४-०-२१-२ ) तथा ड्वेन प्रिटोरिसले एक विकेट ( ३-०-११-१ ) लिए।

जितपछि दक्षिण अफ्रीका ४ खेलमा ३ जित र १ हार पछि समुह ‘१’ अंक तालिकाको दोश्रो स्थानमा यथावत छ। पहिलो खेलमा अस्ट्रेलियासंग पराजित भएको दक्षिण अफ्रीकाले लगातार तेश्रो जितको साथ सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। ४ जितको साथ इंग्ल्यान्ड ८ अंक सहित पहिलो स्थानमा छ। अस्ट्रेलिया ३ खेलमा ४ अंक सहित तेश्रो स्थानमा छ। दक्षिण अफ्रीकाले सुपर-१२ चरणको अन्तिम खेल इंग्ल्यान्ड बिरुद्ध नोभेम्बर ६ तारिखमा खेल्ने तालिका छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy