नेपालको पहिलो खेल हंगकंगसंग

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले दुई वर्ष पछि सहभागिता जनाउन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता युएईमा आयोजना हुँदैछ। नेपाली महिला राष्ट्रिय टिमले अन्तिम पटक २०१९ मा नेपालको पोखरामा आयोजित साग महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको थियो।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, कुवेत, मलेसिया र आयोजक युएई प्रतिस्पर्धा गर्दैछन्। ६ वटा टिमले एकअर्कासंग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) द्वारा घोषित खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले गत साता १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ। रुबिना क्षेत्री कप्तानीको टिममा कविता जोशीले पहिलो पटक स्थान बनाउन सफल भएकी छिन्। मिडियम पेसर जोशीले गत वर्ष पुषमा दाङमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेकी थिईन्। त्यस क्रममा उनले बागमती प्रदेश बिरुद्ध ह्याट्रिक समेत लिएकी थिईन्। पछिल्लो पटक २०१९ मा राष्ट्रिय टिममा रहेकी विश्वकीर्तिमानि बलर अन्जली चन्द, शान्ति खतिवडा यो पटक टिममा छैनन्। यस्तै ममता चौधरी र रोमा थापालाई वैकल्पिकको सूचीमा समाबेश गरिएको छ।

घोषित टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , बैकल्पिक खेलाडी : सरस्वति जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी

प्रतियोगितामा सहभागिताको लागि नेपाली क्रिकेट टिम हाल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यासरत रहेको छ। टिमको प्रशिक्षक जगत टमाटाले गरिरहेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy