T20WC : रिजवान र बाबरको अर्धशतक, पाकिस्तानद्वारा नामिबियालाई कठिन लक्ष्य

२०७८ कार्तिक १६, मंगलवार २१:३२

युएईमा जारी टि-२० विश्वकपको सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को खेलमा पाकिस्तान र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा १८९ रन बनाउदै १९० रनको लक्ष्य प्रस्तुत गरेको छ। उसको लागि ओपनर मोहमम्द रिजवानले सर्वाधिक ७९ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ५० बलमा ८ चौका र ४ छक्का प्रहार गर। यस्तै बाबर आजमले ४९ बलमा ७ चौका मद्दतले ७० रन बनाए। मोहम्मद हफिजले १६ बलमा ५ चौका मद्दतले अविजित ३२ रन बनाए।

ओपनर रिजवानले सुस्त सुरुवात गर्दै पहिलो ६ ओभरमा २९ रन मात्र बनाए। त्यसपछि भने दुवैले गेर परिवर्तन गरे र रन गति बढाए। ११३ रनको ओपनिंग साझेदारीलाई पन्ध्रौँ ओभरमा डेभिड विजेले आजमलाई क्याच आउट गर्दै तोडे। लगत्तै ओभरमा फखर जमानलाई जान फाईलिंकले क्याच आउट पारे। त्यसपछि क्रिजमा आएका हफिजले मात्र २६ बलमा ६७ रनको साझेदारी गरे। इनिंग्सको अन्तिम ५ ओभरमा पाकिस्तानले मात्र १ विकेट गुमाएर ७१ रन बनायो। जेजे स्मितले गरेको अन्तिम ओभरमा मोहम्मद रिजवानले ४ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाए। नामिबियाका बलर डेभिड विजे र जान फ्राईलिंकले समान एक विकेट लिए।

विश्वकपमा शानदार लयमा रहेको पाकिस्तान समुह ‘२’ मा तिन वटा जितको साथ शिर्ष स्थानमा छ। उसले भारतलाई १० विकेटले, न्युजिल्यान्डलाई ५ विकेटले तथा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। आजको जितले पाकिस्तान सेमीफाइनल पुग्ने पहिलो टिम बन्नेछ। अर्कोतर्फ नामिबियाले स्कटल्याण्डलाई पहिलो खेलमा ४ विकेटले पराजित गरेता पनि दोश्रो खेलमा अफगानिस्तानसंग ६२ रनको विशाल अन्तरको हार बेहोरेको थियो। आज पाकिस्तानलाई पराजित गर्दै अप्रत्यासित जित दर्ता गर्दै नामिबीया पनि सेमीफाइनल रेसमा आउन चाहन्छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy