तिलोत्तमा क्रिकेट लिगमा आइतबार भएका २ खेलमा नेपथ्य इगल्स र द रिभाइभलियन्स विजयी भएका छन । तिलोत्तमा १७ एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिँग गरेको बुटवल डाइनामाइट्सलाई ५ विकेटले हराउदै नेपथ्य इगल्सले जीतको शिलशिला कायमै राखेको छ । शुरुमा ब्याटिँग गरेको बुटवल डाइनामाइट्सले अभय ढकालको १८ रन मद्धतमा अलआउट हुनु अघि १७ ओवर ४ बल खेल्दै ५० रनको झिनो स्कोर खडा गरेको थियो । डाइनामाइट्सलाई सस्तैमा समेट्ने क्रममा नेपथ्य इगल्सका बलरद्धय प्रेमसागर यादवले ३ तथा लक्ष्मण कुमालले २ विकेट लिए । ५१ रनको लक्ष्य पछ्याएको नेपथ्यले मात्र ५ विकेटको क्षतिमा ११ ओवर ३ बल खेल्दै ५२ रन बनाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपथ्य इगल्सको जीतमा अलराउण्डर प्रर्दसन गरेका लक्ष्मण कुमालले अविजित २५ रन बनाए भने मनन खानले १४ रन जोडे । नेपथ्य विरुद्ध उत्कृष्ट बलिँग गर्ने क्रममा बुटवल डाइनामाइट्सका सुप्रिम कडेलले ३ विकेट चड्काए पनि हार टार्न सकेनन । खेलमा उत्कृष्ट लयमा बलिँग गरेका विजयी टोली नेपथ्यका प्रेमसागर यादव म्यान अफ दी म्याच घोषित भए भने लक्ष्मण कुमालले गेम चेन्जरको उपाधी प्राप्त गरे । यसैगरि आइतबार नै भएको दोस्रो खेलमा पी टु के डी स्क्वाडलाई ७ विकेटले हराउदै द रिभाइभलियन्सले महत्वपुर्ण अंक बटुल्न सफल भयो । पहिले ब्याटिँग गरेको पी टु के डी स्क्वाडले निर्धारित २० ओवरको खेलमा ७ विकेट गुमाउदै ६४ रनको मध्यम स्कोर खडा गरेको थियो । उसका लागी रुद्राशं भट्टराईले १७ तथा सफल भट्टराईले ११ रन बनाए ।
पी टु के डी स्क्वाडलाई सामान्य स्कोर मै रोक्ने क्रममा द रिभाइभलियन्सका आयान खानले महत्वपुर्ण ४ विकेट हात पारे भने प्रिन्स पालले २ तथा सिद्धार्थ ढकालले १ विकेट लिए । ६५ रनको लक्ष्य पछ्याएको द रिभाइभलियन्सले मात्र १० ओवर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । उसका लागी अजय चाईले अविजित २७ रन बनाउदा सिद्धार्थ ढकालले १७ रनको महत्वपुर्ण पारी खेले । पी टु के डीका लागी सहज अर्यालले २ तथा सागर भण्डारीले १ विकेट लिए पनि त्यो जीतका लागी काफी भएन र सिँगो टोली ७ विकेटले हार्न पुग्यो । उत्कृष्ट लयमा बलिँग गर्दै महत्वपुर्ण ४ विकेट लिने द रिभाइभलियन्सका आयान खान म्यान अफ दी म्याच हुदाँ सिद्धार्थ ढकालले गेम चेन्जरको उपाधी जिते । प्रतियोगितामा सोमबार पनि २ खेल हुनेछन । पीटुकेडी स्क्वाड र विश्व लायन टर्ट्ल्स बीच पहिलो तथा खेलासिकी ओर्काज र नेपथ्य इगल्स बीच दोस्रो खेल हुनेछ ।
