स्वदेश फर्किएपछि कप्तान रोहित भन्छन् ‘फुल मुम्बर टिमलाई हराउन सक्छौं भन्ने आत्मविश्वास बढ्यो’

२०८० असार २२, शुक्रबार १८:४६

जिम्बाव्वेमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

प्रतियोगिताको सुपर सिक्स चरण पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौँ हुँदै घर फर्केको हो । समूह चरणमा जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफमा नेपालले युएईलाई हराएको थियो भने सातौँ स्थानको लागि भएको खेलमा आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो।

स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै कुरा सिकेको बताए ।

https://www.youtube.com/watch?v=ZHYYmOxSV6E

एशोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनले बताए । फुल मेम्बर टिमसँग खेल्न पायौँ भने हामीले पनि उनीहरूलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको पौडेलले बताए । खेल अगाडि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहे पनि उनीहरू र आफूहरुबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ। नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले नेपाल जस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको उहाँको भनाइ छ।

नेपालका युवा अलराउण्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गरे। यद्यपि, उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उनको भनाइ छ।

प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए। उनले  लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे।

नेपालले केही दिन आराम गरेपछि एसिसी इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलंका जानेछ। एशिया कपमा नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग खेल्नेछ। नेपालको समूह ‘बी’ मा युएई पनि छ। जुलाई १४ मा पाकिस्तानविरुद्धको खेलसँगै नेपालले इमर्जिंग एशिया कपको यात्रा थाल्नेछ। यद्यपि, उक्त खेलमा नेपाली टोलीका महत्त्वपूर्ण बलर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी अनुपस्थित रहने कप्तान रोहित पौडेलले बताए। दुवै क्यानडामा २० जुलाई देखि सुरु हुने ग्लोबल टि-२० लिग खेल्न जाने कार्यक्रम छ।

https://www.youtube.com/watch?v=7HLPzt8_Tvo

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy