ICC WTC FINAL : दोश्रो इनिंग्समा भारतलाई सामान्य अग्रता, रिजर्भ डेमा नतिजाको आशा

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पाँचौ दिनको खेल समाप्त हुँदा भारतले दोश्रो इनिंग्समा ३२ रनको अग्रता पाएको छ। पाँचौ दिनको खेल समाप्त हुँदा दुई दिनको खेल वर्षाले तथा केहि समय खराब प्रकाशले समेत खेल अवरुद्ध भएकोले टेस्ट छैठौं दिन रिजर्भ डेमा पनि खेलिनेछ।

टेस्टको छैठौं दिन न्युजिल्यान्ड भारतलाई छिट्टै अलआउट गरेर सकभर सानो योगफल पछ्याउन चाहनेछ भने भारत त्यसको बिपरित सहजै विकेट नदिने पक्षमा हुनेछ। त्यस हिसाबले छैठौं दिनको खेल रोमान्चक हुने अपेक्षा गर्न सकिन्छ।

न्युजिल्यान्डले दोश्रो इनिंग्समा २४९ रन बनाएपछि ३१ रनले पछि परेको भारतले दोश्रो इनिंग्स ब्याटिंग गर्दा दिनको समाप्तिमा ३० ओभर ब्याटिंग गर्दा २ विकेट गुमाएर ६४ रन बनाएको छ। दिनको समाप्तिमा चेतेश्वर पुजारा १२ रन तथा बिराट कोहली ८ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

रोहित शर्मासंग २४ रनको ओपनिंग साझेदारी गरेपछि ८ रन बनाएका शुबमन गिललाई ११ औं ओभरमा टिम साउदीले एलबिडब्लु आउट गरे। दोश्रो विकेटको लागि रोहितले चेतेश्वर पुजारासंग २५ रनको साझेदारी गरे जसपछि रोहितलाई साउदीले एलबिडब्लु धरापमा पारे जस अघि उनले ३० रन बनाए।

न्युजिल्यान्डको बलिंगमा टिम साउदीले २ विकेट ( ९-३-१७-२ ) लिएका छन्। गिलको विकेट लिंदै साउदीले अन्तर्राष्ट्रिय क्रिकेटमा ६ सयौं विकेट समेत पुरा गरेका छन्।

न्युजिल्यान्डले पहिलो इनिंग्समा २४९ रन बनायो

यस अघि न्युजिल्यान्डले आफ्नो पहिलो इनिंग्समा २४९ रनमा सम्पूर्ण विकेट गुमाउदै ३१ रनको अग्रता पाएको थियो। पाँचौ दिनको सुरुवात १०१/२ को योगफलबाट सुरुवात गरेको न्युजिल्यान्डले बाँकी ८ विकेट गुमाउदा योगफलमा थप १४८ रन जोड्न सक्यो।

न्युजिल्यान्डको लागि ओपनर डेभोन कनवेले सर्वाधिक ५४ रन तथा कप्तान केन विलियमसनले ४९ रन बनाए। टम लाथम र टिम साउदीले समान ३० रन, कायल जेमीसनले २१ रन बनाए।

भारतको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ४ विकेट ( २६-८-७६-४ ) , इशान्त शर्माले ३ विकेट ( २५-९-४८-३ ) , रभीचन्द्रन आश्विनले २ विकेट ( १५-५-२८-२ ) तथा रभीन्द्र जडेजाले १ विकेट ( ७.२-२-२०-१ ) लिए।

टेस्टको पहिलो इनिंग्समा टस हारेर ब्याटिंग गरेको भारतले २१७ रन बनाएको थियो। भारतको लागि अजिंके रहानेले ४९ रन, बिराट कोहलीले ४४ रन, रोहित शर्माले ३४ रन योगदान दिएका थिए। न्युजिल्यान्डको बलिंगमा कायल जेमीसनले ५ विकेट तथा ट्रेन्ट बोल्ट र निल वाग्नरले समान २ विकेट लिएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy