‘द हन्ड्रेड’ भिन्सको कप्तानी इनिंग्समा ब्रेभको पहिलो जित

२०७८ श्रावण १६, शनिबार ०६:१८

रोमान्चक खेलमा मोईन अलि कप्तानीको बर्मिङगम फोनिक्सलाई ४ विकेटले पराजित गर्दै जेम्स भिन्स कप्तानीको साउदर्न ब्रेभले ‘द हन्ड्रेड’ लिगमा पहिलो जित दर्ता गरेको छ।

गय राति रोज बल स्टेडियम साउथह्याम्पटन सम्पन्न लिगको ११ औं खेलमा फोनिक्सले दिएको १५२ रनको लक्ष्य ब्रेभले २ बल बाँकी रहंदा ६ विकेट गुमाएर पुरा गर्यो।

ब्रेभको ब्याटिंगमा कप्तान जेम्स भिन्सले सर्वाधिक ६० रन बनाए जुन क्रममा ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरे। डेभोन कनवेले ३४, क्रिस जोर्डनले अविजित १७ तथा एलेक्स डेभिसले १५ रन बनाए।

क्विन्टन डीकक ३ रन बनाएर आउट भएपछि भिन्सले दोश्रो विकेटको लागि कनवेसंग ५५ रनको साझेदारी गरेका थिए। ५८ औं बलमा भिन्स आउट भएपछि कनवेले डेभिससंग तेश्रो विकेटको लागि ३२ रनको साझेदारी गरे। ८१ औं बलमा कनवेलाई एडम मिल्नेले बोल्ड गरेपछि कोलिन डी ग्र्याण्डहोम र रोस व्हाइटले लामो समय क्रिजमा जम्न सकेनन्।

जितको लागि अन्तिम ५ बलमा ९ रन आवस्यक हुँदा क्रिस जोर्डनले टम हेल्मले गरेको अन्तिम ओभरको पहिलो बलमै चौका प्रहार गरे। त्यसपछि हेल्मले वाइड बल गरे भने लगत्तै क्रिस जोर्डनको क्याच छुट्न पुग्यो जसमा जोर्डनले २ रन लिए। लगत्तै बलमा वाइडमार्फत २ रन आएपछि ब्रेभले खेल जित्यो।

फोनिक्सको बलिंगमा एडम मिल्नेले सर्वाधिक ३ विकेट लिए भने टम हेल्म, मोईन अलि र इमरान ताहिरले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको बर्मिङगम फोनिक्सले १०० बलमा ३ विकेट क्षेतीमा १५१ रन बनाएको थियो। उसको लागि लियाम लिभिंगस्टोनले अविजित रहँदै सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै माइल्स ह्यामोन्डले २९ बलमा ५ चौका र १ छक्का मद्दतले अविजित ४४ रन बनाए।

४७ रनमा पहिलो ३ विकेट गुमेको अवस्थामा लिभिंगस्टोन र ह्यामोन्डले चौथो विकेटको लागि अविजित १०४ रनको साझेदारी गरेका थिए।

ब्रेभको बलिंगमा जेक लिन्टोटले २ तथा टाइमल मिल्सले १ विकेट लिए।

जितपछि साउदर्न ब्रेभ ३ खेलमा १ जित र २ हार सहित २ अंक बटुल्दै अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ। बर्मिङगम फोनिक्स पनि समान नतिजा सहित नेट रन रेटमा अघि रहँदै पाँचौ स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy