The Hundred : सन्दिपको क्वारेन्टाइन आज सकिदै, कहिले छ पहिलो खेल ?

२०७८ श्रावण ४, सोमबार ०८:२७

जुलाई २२ तारिख देखि इंग्ल्यान्डमा सुरु हुने पहिलो संस्करणको ‘द हन्ड्रेड’ लिग खेल्न इंग्ल्यान्डमा रहेका नेपाली स्पिनर सन्दिप लामिछानेको क्वारेन्टाइन अवधि आज ( सोमबार ) सकिदै छ।

जुलाई ८ तारिखमा नेपालबाट इंग्ल्यान्डतर्फ प्रस्थान गरेका सन्दिपले जुलाई ९ तारिखमा क्वारेन्टाइन सुरु गरेका थिए। १० दिने क्वारेन्टाइन अवधि पछि सन्दिपको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको खण्डमा उनि लगत्तै टिमसंग जोडिएर अभ्यास सुरु गर्नेछन्। यो वर्ष जनवरीमा अस्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिताको ६ महिना पछि पहिलो पटक सन्दिपले विदेशी लिग खेल्न लागेका हुन्।

लिगमा सन्दिप ‘ओभल इन्भिन्सीबल’बाट खेल्दैछन्। ओभलले सन्दिपलाई ६० हजार पाउण्ड स्टरलिंगमा ( करिब १ करोड नेपाली रुपैयाँ ) अनुवन्ध गरेको हो। नेपाली स्पिनर पहिलो पटक इंग्ल्यान्डको लिग खेल्न लागेका हुन्।

ओभलले लिगको उद्घाटन खेल म्यानचेस्टर ओरिजिनलसंग जुलाई २२ तारिखमा खेल्ने तालिका रहेको छ। पहिलो खेलबाटै सन्दिप उपलब्ध हुनेछन्।


सन्दिप सहित ओभलमा विदेशी खेलाडीको रुपमा स्टार वेस्टइन्डिज स्पिनर सुनिल नारायण तथा आक्रामक दक्षिण अफ्रिकी ब्याट्सम्यान कोलिन इन्ग्राम रहेका छन्। यस्तै टिममा स्याम करन, स्याम बिलिंग्स, रोरी बर्न्स, टम करन, सकिब महमुद, जेसन रोय, रिस टपले, लौरी इभान्स, विल ज्याक्स, नाथन सोटर, ब्रेण्डन ग्लोभर, जोर्डन कक्स, एलेक्स बलेक र जोर्डन क्लार्क रहेका छन्।

नयाँ फर्म्याटमा आयोजना हुने लिग इंग्ल्यान्ड क्रिकेट बोर्डको महत्वकांक्षी प्रतियोगिता हो जसबाट इंग्ल्यान्डले नयाँ दर्शकहरुको खेल प्रति रुची बढोस् भन्ने चाहन्छ। यो फर्म्याटमा एउटा इनिंग्स मात्र १०० बलको हुनेछ भने एउटा बलरले खेलमा २० बल बलिंग गर्न पाउनेछ। बलरले ५ बल अथवा कप्तानले चाहे अनुसार लगातार १० बल सम्म पनि गर्न पाउने नियम रहेको छ। १० बल बलिंग गरेपछि मात्र फिल्डिंग टिमले बलिंग गर्ने दिशा परिवर्तन गर्न पाउनेगर्छ। २५ बलको पावरप्ले हुनेछ जसमा २ जना फिल्डर ३० यार्ड सर्कल बाहिर बस्न पाउनेछ।

लिगमा ओभल इन्भिन्सिबल सहित म्यानचेस्टर ओरिजिनल्स, वेल्स फायर, लण्डन स्पिरिट, साउदर्न ब्रेभ, बर्मिन्घम फोनिक्स, ट्रेन्ट रकेट्स, नर्दर्न सुपरचार्जर्स गरि कुल ८शहरको टोलि सहभागी रहेका छन्।

लिगमा कुल ३२ वटा खेल खेलिनेछ। सबै टिमले घरेलु मैदानमा ४ वटा र बाहिर ४ वटा खेल खेल्नेछ। त्यसमध्ये सबै टिमले एक बोनस खेल आफ्नो नजिकको शहरको प्रतिद्वन्द्वीसंग खेल्नेछ। जस्तै ओभल इन्भिन्सीबलले लण्डन स्पिरिटसंग दुई वटा खेल खेल्नेछ। लिग चरणको खेल सकिएपछि अंकतालिकाको शिर्ष टिम सोझै फाइनल प्रवेश गर्नेछ भने दोश्रो र तेश्रो हुने टिमले फाइनल प्रवेशको लागि सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

ओभल इन्भिन्सीबलको खेलतालिका :जुलाई २२ Vs म्यानचेस्टर ओरिजिनल , जुलाई २५ Vs लण्डन स्पिरिट , जुलाई ३१ Vs नर्दर्न सुपरचार्जर्स, अगस्ट २ Vs वेल्स फायर, अगस्ट ४ Vs बर्मिङगम , अगस्ट ८ Vs ट्रेन्ट रकेट्स, अगस्ट १४ Vs लण्डन स्पिरिट, अगस्ट १६ Vs साउदर्न ब्रेभ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy