द हन्ड्रेड : विश्व नम्बर-१ टि-ट्वान्टी बलर शाम्सीले सन्दिपको प्रतिस्थापन गर्ने

२०७८ श्रावण ६, बुधबार १९:५४

टि-२० अन्तर्राष्ट्रियमा वरियताका विश्व नम्बर-१ बलर तब्रेज शाम्सीले ‘द हन्ड्रेड’ लिगमा नेपाली स्पिनर सन्दिप लामिछानेको प्रतिस्थापन गर्ने भएका छन्।

सन्दिप लामिछानेले टि-२० ब्लास्ट र द हन्ड्रेड गरि लगातार दुई वटा इंग्ल्यान्डको घरेलु प्रतियोगिता भिसा समस्याका कारण गुमाएका हुन्। द हन्ड्रेड खेल इंग्ल्यान्ड पुगेर क्वारेन्टाइन अवधि समेत पुरा गरेका उनको टियर-५ भिसा इंग्ल्यान्ड क्रिकेट बोर्डले अवैध बताएपछि सन्दिप मंगलबार नेपाल हिंडेका थिए। नेपाली स्पिनरलाई ओभलले ६० हजार पाउण्ड स्टरलिंगमा अनुबन्ध गरेको थियो।

सन्दिप घर फर्किएपछि ‘ओभल इन्भिन्सिबल’ ले उनको स्थानमा दक्षिण अफ्रिकी देब्रे हाते रिस्ट स्पिनर तब्रेज शाम्सीलाई प्रतिस्थापनको रुपमा टिममा अनुबन्ध गरेको छ। दक्षिण अफ्रीकाको लागि ३८ टि-२० खेलेका शाम्सीले ४२ विकेट लिएका छन्। ३१ वर्षीय बलर हाल आयरल्याण्ड भ्रमणमा टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलीरहेका छन्। जुलाई २४ तारिखमा सिरिज सकिएपछि उनि इंग्ल्यान्ड प्रस्थान गर्नेछन्।

शाम्सी लिग चरणमा ८ खेल मध्ये ६ खेलमा उपलब्ध हुने बताईएको छ। त्यस अघि टिममा उनको स्थान मिडलसेक्सबाट इंग्ल्यान्डको घरेलु क्रिकेट खेलीरहेका अस्ट्रेलियाका लेग स्पिनर नाथन सोटरले लिनेछन्। टिममा सुनिल नारायण र कोलिन इन्ग्राम अन्य दुई विदेशी खेलाडीहरु रहेका छन्।

लिगमा ओभल ओभल इन्भिन्सिबलले पहिलो खेल जुलाई २२ तारिखमा ओरिजिनल बिरुद्ध खेल्ने तालिका रहेको छ।

दक्षिण अफ्रिकी स्पिनर शाम्सीले सन्दिपलाई प्रतिस्थापन गर्नेछन्

ईसीबिलाई सन्दिपको प्रश्न “मेरो भिसा कसरि अवैध?”

इंग्ल्यान्ड प्रवेश गरेर क्वारेन्टाइन समेत बसेपछि अचानक भिसा अवैध बताईएपछि निराश सन्दिपले मंगलबार सामाजिक संजाल मार्फत इंग्ल्यान्ड क्रिकेट बोर्ड ( ईसीबि ) लाई आफ्नो भिसा एक्कासी कसरि अवैध भएको कारण सोधेका थिए –

“म द हन्ड्रेड गुमाउनु पर्दा निराश छु। म ओभल इन्भिन्सिबलबाट खेल्न उत्साहित थिए जसको लागि इंग्ल्यान्ड क्रिकेट बोर्डको अधिकारीहरुले दिएको सबै निर्देशन पालना गरेको थिएँ।”

“जब मैले टियर-५ भिसाको लागि आवेदन दिएको थिए त्यस बेला टि-२० ब्लास्ट र द हन्ड्रेडमा मेरो सहभागिताको लागि एउटा प्रायोजन प्रमाणपत्र मात्र पर्याप्त भएको बताईएको थियो। कोभिड-१९ को स्थितिको कारण मेरो भिसामा ढिलाई भएका कारण वर्सेस्टरशायरले मेरो अनुबन्ध रद्द गर्यो। तर मलाई अधिकारीहरुले पुनः सुचित गर्दै जुलाई १० भन्दा अघि इंग्ल्यान्ड आएको खण्डमा मेरो COS सक्रिय हुने जानकारी गरिएको थियो।”

“म युके जुलाई ९ तारिखमा आईपुगे जुन दौरान इमिग्रेसनमा कुनै समस्या थिएन र म सरकारी मान्यताप्राप्त क्वारेन्टाइनमा पुगे। तर क्वारेन्टाइन अवधि पुरा हुनु दुई दिन अघि मलाई १८ जुलाईमा इंग्ल्यान्ड क्रिकेट बोर्डले बतायो कि भिसा वैध छैन र मैले सक्दो छिटो देश छोड्नु पर्नेछ।”


“म सोधीरहेको छु कि के गलत भयो जसको जवाफ इंग्ल्यान्ड क्रिकेट बोर्डसंग छैन। म बुझ्न सक्छु कि परिस्थिति कुनै पनि बेला प्रतिकुल हुनसक्छ तर कम्तिमा मलाई यो कुरा को स्पस्ट जवाफको हकदार छु कि कि मेरो वैध भिसा एक्कासी कसरी अवैध भयो।”

“मैले यो प्रतियोगिताको हिस्सा बन्न धेरै त्याग गरेको छु र सबै टिमहरुलाई शुभकामना दिन्छु। मलाई युकेको जनताहरुले सधै माया दिएका छन् र म इंग्ल्यान्ड क्रिकेट बोर्डलाई यो घटनालाई नियाल्न आग्रह गर्छु ताकी अरुले यस्तो समस्या भोग्न नपरोस्। म उनीहरुको लागि पनि दुखित छु जो मेरो यो प्रतियोगितामा सहभागिताको लागि उत्साहित थिए। अगाडी सुखद दिन आउनेछ।” सन्दिपले लेखेका छन्।

नेपाली स्पिनर पहिलो पटक इंग्ल्यान्डको लिग खेल्न छानिएका थिए। यस अघि इंग्ल्यान्डकै टि-२० ब्लास्ट प्रतियोगितामा भिसा समयमा नआएपछि वर्सेस्टरसायरले अनुबन्ध रद्द गर्दा सन्दिपले प्रतियोगितानै गुमाउनु परेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy