रोमान्चक खेलमा जोस बटलर कप्तानीको म्यानचेस्टर ओरिजिनल्सलाई ९ रनले पराजित गर्दै स्याम बिलिंग्स कप्तानीको ओभल इन्भिन्सिबल्सले ‘द हन्ड्रेड’ लिगको उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ।
लन्डनको केनिंगटन ओभलमा सम्पन्न खेलमा ओभलले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा म्यानचेस्टरले पुरै १०० बल ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १३६ रन मात्र बनाउन सक्यो।
प्रतिस्पर्धात्मक अन्त्य भएको खेलको अन्तिम १० बलमा म्यानचेस्टरलाई जित्न २६ रन आवस्यक थियो भने साथमा ५ विकेट थियो। अन्तिम स्पेल बलिंग गरेका टम करनले क्रिजमा जमीसकेका काल्भिन ह्यारी सनलाई क्याच आउट गराए भने ५ बलमा मात्र ७ रन खर्चिए। त्यसपछि अन्तिम ५ बलमा जित्न १९ रन आवस्यक रह्यो। स्याम करनले गरेको अन्तिम ५ बल अन्तर्गत पहिलो बलमै कार्लोस ब्राथवेटको महत्वपूर्ण विकेट लिंदै ओभललाई खेलमा हावी गराए। त्यसपछि करनले अन्तिम ४ बलमा मात्र ८ रन खर्चिए।
म्यानचेस्टरको लागि कार्लोस ब्राथवेटले सर्वाधिक ३७ रन, कोलिन मुनरोले २६ रन तथा काल्भिन ह्यारिसनले २३ रन योगदान दिए। ६९/५ को अवस्थाबाट छैठौं नम्बरमा ब्याटिंग गरेका ब्राथवेटले छैठौं विकेटको लागि काल्भिन ह्यारिसनसंग ५३ रनको साझेदारी गरेका थिए।
ओबलको बलिंगमा स्याम करन र नाथन सोटरले समान २ विकेट तथा सुनिल नारायण, रिस टपले र टम करनले समान १ विकेट लिए।
✨ Another electric atmosphere
✌️ Another Oval Invincibles win! pic.twitter.com/7BvAOftR4n
— The Hundred (@thehundred) July 22, 2021
यस अघि टस हारेर ब्याटिंग गरेको ओभलले १०० बलमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो। उसको लागि कप्तान स्याम बिलिंग्सले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे। टम करनले अविजित २९, जेसन रोयले २० तथा कोलिन इन्ग्रामले १७ रन योगदान दिए।
खराब सुरुवात गरेको ओभल ४८/४ को अवस्थामा रहंदा बिलिंग्सले इन्ग्रामसंग पाँचौ विकेटको लागि ५७ रनको साझेदारी गरेका थिए।
म्यानचेस्टरको बलिंगमा फ्रेड क्लासेनले सर्वाधिक ३ विकेट, टम हार्टले र स्टेभेन फिनले समान २ विकेट तथा म्याथु पार्किन्सनले १ विकेट लिए।
म्याचको हिरो स्याम बिलिंग्स घोषित भए।
लिगमा नेपाली स्पिनर सन्दिप लामिछाने ओभल इन्भिन्सिबलको लागि खेल्न इंग्ल्यान्ड पुगेता पनि भिसा समस्याको कारण घर फर्कनुपरेको थियो। उनको स्थानमा विदेशी खेलाडीको रुपमा अन्तिम-११ मा अस्ट्रेलियाका नाथन सोटर खेलीरहेका छ। दक्षिण अफ्रिकी स्पिनर तब्रेज शाम्सी आयरल्याण्डसंगको सिरिज पछि टिमसंग जोडिनेछन्।
लिगमा ओभल इन्भिन्सिबल सहित म्यानचेस्टर ओरिजिनल्स, वेल्स फायर, लण्डन स्पिरिट, साउदर्न ब्रेभ, बर्मिन्घम फोनिक्स, ट्रेन्ट रकेट्स, नर्दर्न सुपरचार्जर्स गरि कुल ८शहरको टोलि सहभागी रहेका छन्।
नयाँ फर्म्याटमा आयोजना हुने लिग इंग्ल्यान्ड क्रिकेट बोर्डको महत्वकांक्षी प्रतियोगिता हो जसबाट इंग्ल्यान्डले नयाँ दर्शकहरुको खेल प्रति रुची बढोस् भन्ने चाहन्छ। यो फर्म्याटमा एउटा इनिंग्स मात्र १०० बलको हुन्छ भने एउटा बलरले खेलमा २० बल बलिंग गर्न पाउछ। बलरले ५ बल अथवा कप्तानले चाहे अनुसार लगातार १० बल सम्म पनि गर्न पाउने नियम रहेको छ। १० बल बलिंग गरेपछि मात्र फिल्डिंग टिमले बलिंग गर्ने दिशा परिवर्तन गर्न पाउने गर्छ। २५ बलको पावरप्ले हुनेछ जसमा २ जना फिल्डर ३० यार्ड सर्कल बाहिर बस्न पाउछ।
