तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

लगातार दोश्रो पटक तिरहुत टाइगर्सले मेयर कप सप्तरी प्राइड लिगको उपाधि जितेको छ।

बिहिबार सम्पन्न प्रतियोगिताको सातौँ संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।

सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य पाएको तिरहुत टाइगर्सले १५. ३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

टाइगर्सका ओपनर भोला शाहले अविजित अर्धशतक बनाउदै जितमा अहम योगदान दिए। उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। भोलाले दोश्रो विकेटको लागि निरज यादवसंग अविजित ७९ रनको साझेदारी गरे। निरजले अविजित १८ रन बनाउदा अभिनाश कर्णले १३ रन योगदान दिए। रोयलका नितेश यादवले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज राजदेवी रोयलले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। रोयलको लागि रोहन विकले सर्वाधिक २३ रन योगदान दिए। यस्तै अभिषेक तिवारीले १९ तथा जितु यादवले अविजित १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टाइगर्सको बलिंगतर्फ श्रवन यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा ३२ रन खर्चिए। यस्तै चित्र बहादुर बिस्ट र अनिल यादवले २/२ विकेट लिए भने राहुल मण्डल र अजय यादवको नाममा १/१ विकेट रह्यो।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको उपाधि सहित विजेता तिरहुत टाइगर्सले २ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता राजविराज राजदेवी रोयलले १ लाख रुपैयाँ पायो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी राजविराज राजदेवी रोयलका दिवान पुन घोषित भए जसले २५ हजार रुपैयाँ पाए। प्रतियोगिता भर उनले ४ खेलमा १०१ रन बनाउनुको साथै ६ विकेट पनि लिए।

Diwan Pun

यस्तै उत्कृस्ट ब्याटर ४ खेलमा १३८ रन बनाएका तिरहुत टाइगर्सका भोला शाह घोषित भए भने उत्कृस्ट बलर पनि ४ खेलमा १३ विकेट लिएका टाइगर्सकै चित्र बहादुर बिस्ट भए। उत्कृस्ट ब्याटर र बलरले समान १५ हजार रुपैयाँ पाए। प्रतियोगिताको उदयमान खेलाडी रोयल तिरहुत टाइगर्सका अनिल यादव घोषित भए।

८ दिन संचालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका ८ टिम सहभागी थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy