नेपाल टस जितेर फिल्डिंग गर्दै, करन केसी बाहिर

२०७९ मंसिर २, शुक्रबार ०८:४६

घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज शुक्रबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले टस जितेर युएईलाई ब्याटिंगको निम्तो दिएको छ।

खेलमा नेपालले फास्ट बलर करन केसीलाई बाहिर राख्दै टप अर्डर देब्रे  ब्याट्सम्यान तथा अफ स्पिनर हरि शंकर शाहलाई मौका दिएको छ।

नेपालको अन्तिम एघार : रोहित पौडेल ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिपेन्द्र ऐरी, आसिफ शेख ( विकेटकिपर ) , सोमपाल कामि, अर्जुन साउद, गुल्सन झा, हरि शंकर शाह, कुशल भुर्तेल, ललित राजबंशी

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रूपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तोमा अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् । नेपाल आजको खेल जित्दै सिरिज २-१ ले जितेर इतिहास कायम गर्न चाहन्छ । नेपालले यस सिरिज जितेमा घरेलु भूमिमा नेपालले पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एक दिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २-० ले हारेको थियो ।

यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरी सिरिज जित्न चाहन्छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु भूमिमा पराजित गरी तीन खेलको सिरिज २-१ ले जितेको थियो ।

नेपाल र युएईबीचको यस खेल नवौँ खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ । नेपालले तीन पटक आफ्नो बनाएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy