नेपाल, मलेसिया र नेदरल्याण्ड बीच अप्रिल १७ तारिख देखि अप्रिल २४ तारिखसम्म ( बैशाख ४ गते देखि ११ गते सम्म ) नेपालमा आयोजना हुने त्रिकोणात्मक टि-२० सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड बीच प्रतिस्पर्धा हुने भएको छ।
डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने सिरिजमा सहभागी तिन वटा टिमले एक अर्कासंग २/२ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम बीच फाइनलमा प्रतिस्पर्धा हुनेछ। सिरिज अन्तर्गत लिग चरणमा ६ वटा र फाइनल गरि कुल ७ वटा खेल खेलिनेछन्।
नेपालले उद्घाटन खेलमा नेदरल्याण्डसंग अप्रिल १७ तारिख ( बैशाख ४ गते ) प्रतिस्पर्धा गर्नेछ। नेपालको दोश्रो खेल मलेसियासंग अप्रिल १९ तारिखमा ( बैशाख ६ गते ) , तेश्रो खेल नेदरल्याण्डसंग अप्रिल २० तारिखमा ( बैशाख ७ गते ) नेदरल्याण्डसंग तथा चौथो खेल मलेसियासंग अप्रिल २२ तारिख ( बैशाख ९ गते ) खेल्ने तालिका रहेको छ।
नेपालले खेल्ने सबै खेल दिउसो २:१५ बजे सुरु हुनेछ। मलेसिया र नेदरल्याण्ड बीच अप्रिल १८ तारिख र अप्रिल २१ तारिखमा हुने दुईवटा खेल भने १२:१५ बजे सुरु हुनेछ। लिग चरणको खेल पछि १ दिन विश्राम रहेको छ जसपछि अप्रिल २४ तारिख ( बैशाख ११ गते ) फाइनल खेलिनेछ जुन खेल २:१५ बजे दिउसो सुरु हुनेछ।
सिरिजको सम्पूर्ण खेलहरु टियु क्रिकेट मैदान कीर्तिपुरमा खेलिनेछ। खेलहरु हेर्नको लागि नेपाल क्रिकेट संघले टिकट दर १ सय ५० रुपैयाँ तोकेको छ। प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्नेछ।
सिरिजको खेलतालिका :
१७ अप्रिल ( बैशाख ४ ) – नेपाल र नेदरल्याण्ड ( २:१५ बजे )
१८ अप्रिल ( बैशाख ५ ) – मलेसिया र नेदरल्याण्ड ( १२:१५ बजे )
१९ अप्रिल ( बैशाख ६ ) – नेपाल र मलेसिया ( २:१५ बजे )
२० अप्रिल ( बैशाख ७ ) – नेपाल र नेदरल्याण्ड ( २:१५ बजे )
२१ अप्रिल ( बैशाख ८ ) – मलेसिया र नेदरल्याण्ड ( १२:१५ बजे )
२२ अप्रिल ( बैशाख ९ ) – नेपाल र मलेसिया ( २:१५ बजे )
२४ अप्रिल ( बैशाख ११ ) – फाइनल ( २:१५ बजे )
सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम हाल बन्दप्रशिक्षणमा व्यस्त रहेको छ। बन्द प्रशिक्षणमा २० जना खेलाडीहरु सहभागी रहेका छन् जसबाट प्रतियोगिता अघि १४ सदस्यीय टोलिको घोषणा गरिनेछ। नेदरल्याण्ड र मलेसियाले भने सिरिजको लागि टिमको घोषणा गरिसकेको छ।
नेपाली टिम ( प्रारम्भिक ) : ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारि, शाहब आलम, सन्दिप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित राजबंशी
नेदरल्याण्ड टिम : पिटर सिलर ( कप्तान ) टोबीएस भिसे, बेन कुपर, म्याक्स ओ’ डोड, बास डी लिडे, बिक्रमजित सिंह, स्कट एडवार्ड्स, आर्यन दत्त, फिलिपे बोसेभेन, पल भान मिकीरन, भिभिएन किंग्मा, टोनी स्टाल, सेबास्टिएन ब्राट, जुलिएन डे मे
मलेसिया टिम : एहमद फैज बिन मोहम्मद नुर ( कप्तान ) , भिरनदिप सिंह ( उपकप्तान ) , सयद अजिज बिन सयद मुबारक, शर्भिन मुनिएन्डी, मोहम्मद अनवर बिन अरुदीन, मोहम्मद शफिक बिन मोहम्मद शरिफ, ऐनुल हफिज बिन मोहम्मद यतीम, अमिनुदीन रामली, मुहम्मद अनवर बिन ए रहमान, सयजरुल एजात बिन इदृस, मुहम्मद वफिक इरफान बिन जर्बानी, पभनदिप सिंह, मुहम्मद फित्री बिन मोहम्मद शाम, खिजार हायत दुरानी, धीभेन्द्रन मोगन
नेपालले अन्तिम पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट गत वर्ष फेब्रुअरीमा विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेलेको थियो। त्यसपछि सोहि वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगितामा नेपाली टिम सहभागी भएको थियो। त्यसपछि घरेलु क्रिकेट प्रतियोगिताहरु सुरु भैसकेको भएता पनि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट भने पहिलो पटक खेल्न लागेको हो।
अर्कोतर्फ नेदरल्याण्ड क्रिकेट टिमले २०१९ नोभेम्बर पछि बल्ल अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। मलेसियाले अन्तिम पटक नेपालसंगै थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगितामा सहभागिता जनाएको थियो।
यो पनि पढ्नुस
https://wicketnepal.com/covid-19-vaccine-cricketer-wn21/
https://wicketnepal.com/pak-beat-sa-to-win-2-1-ser/