सुनिल नारायण चम्किदा ट्रिनबागोको दोश्रो जित, १ विकेट लिएका सन्दिपको यस्तो रह्यो बलिंग प्रदर्शन

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत सन्दिप लामिछानेको टिम जमैका तलावाज दोश्रो खेलमा काइरन पोलार्ड कप्तानीको टिम ट्रिनबागो नाइट राइडर्ससंग पराजित भएको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै जमैकाले दिएको १३६ रनको लक्ष्य ट्रिनबागोले मात्र ३ विकेट गुमाएर १९ औं ओभरमा पुरा गर्यो।

लिग अन्तर्गत पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको थियो जमैका अंकतालिकामा १ जित र हार पछि तेश्रो स्थानमा पुगेको छ। पहिलो खेलमा गायनलाई ४ विकेटले पराजित गरेको ट्रिनबागो जितपछि २ जितको साथ अंकतालिकाको पहिलो स्थानमा उक्लेको छ।

सुनिल नारायणको आक्रमण र मुनरोको धैर्यता

पहिलो खेलमा गायना बिरुद्ध ५० रन बनाएका सुनिल नारायणले लिगमा लगातार अर्धशतक बनाउदै ट्रिनबगोको जितमा महत्वपूर्ण योगदान दिए। नारायणनै प्लेयर अफ द म्याच पनि चुनिए।

ओपनर लेन्डल सिमोन्स खाता नखोली पहिलो ओभरमा आउट भए पछि अर्का ओपनर नारायणले कोलिन मुनरोसंग दोश्रो विकेटको लागि ७५ रनको साझेदारी गरे। ११ औं ओभरमा सन्दिप लामिछानेबाट क्याच आउट हुनु अघि नारायणले ५३ रन बनाए जुन क्रममा ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

नारायणको विकेट पछि कोलिन मुनरोले एक किनार सम्हालीरहे। उनले तेश्रो विकेटको लागि डेरेन ब्राभोसंग ३० रनको तथा चौथो विकेटको लागि कप्तान काइरन पोलार्डसंग ३१ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। अविजित ४९ रन बनाएका मुनरोले ४६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। ब्राभोले १४ तथा पोलार्डले अविजित ५ रन बनाए।

जमैकाको बलिंगमा फिडेल एडवार्ड्स ( ४-१-१९-१  ), मुजिब उर् रहमान ( ४-०-१३-१ ) र सन्दिप लामिछाने ( ४-०-३०-१ ) ले समान १/१ विकेट लिए।

सुनिल नारायणले लगातार दोश्रो अर्धशतक प्रहार गरे

जमैकाको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो। उसको लागि ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ५८ रन बनाए। उनले ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। आन्द्रे रसेलले २५, असिफ अलिले २२ रन बनाए।

खराब सुरुवात गरेको जमैकाले सुरुवाती ३ विकेट १९ रनमै गुमाएको थियो। त्यसपछि फिलिप्सले १६ औं ओभरसम्म ब्याटिंग गर्दै टिमलाई सम्मानजनक योगफल बनाउन अहम योगदान दिएका थिए।

ट्रिनबागोको बलिंगमा अलि खान ( ४-०-२५-२ ) र जेडन सिल्स ( ३-०-२१-२ ) ले समान २/२ विकेट लिए। सुनिल नारायण ( ४-०-१९-१ ) , फवाद एहमद ( ३-१-१८-१ ) र ड्वेन ब्राभो ( ४-०-३२-१ ) ले समान १/१ विकेट लिए।

कस्तो रह्यो सन्दिपको बलिंग 

पहिलो खेलमा १ विकेट लिएका सन्दिपले दोश्रो खेलमा पनि १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे।

सन्दिपको पहिलो ओभर : ४ रन ( ० , १ लेगबाई, १ , १ लेगबाई , १ , ० )

नवौं ओभरमा पहिलो ओभर लिएर आएका सन्दिपले उत्कृस्ट सुरुवात गर्ने क्रममा पहिलो ओभरमा मात्र २ रन खर्चिएका थिए। लगातार आक्रामक ब्याटिंग गरिरहेका सुनिल नारायण र कोलिन मुनरोलाई सन्दिपले ओभरमा नियन्त्रणमा राखे। ओभरमा कुल ४ रन मात्र आयो जसमध्ये २ रन लेग बाइमार्फत आएको थियो।

सन्दिपको दोश्रो ओभर :- ११ रन दिएर १ विकेट ( २ , १ , ६ , १ , विकेट , १ )

लगत्तै स्पेलमा ११ औं ओभरमा बलिंग गरेका सन्दीपले पाँचौ बलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणलाई पाँचौ बलमा क्याच आउट गराउदै महत्वपूर्ण सफलता दिलाए। स्लग स्विप खेल्ने क्रममा ब्याटको माथिल्लो किनारा लागेपछि सन्दिपले ५३ रन बनाएका नारायणलाई शान्त गराएका थिए। यस अघि ओभरको तेश्रो बलमा सन्दिपलाई कोलिन मुनरोले छक्का प्रहार गरेका थिए। ११ रन खर्चेर सन्दिपले मुनरो र नारायण बीचको ७५ रनको साझेदारी तोड्दै जमैकालाई खेलमा फर्काए।

सन्दिपको तेश्रो ओभर :– ७ रन ( ० , ४ , १ , ० , १ , १ )

१३ औं ओभरमा सन्दिपलाई दोश्रो बलमा डेरेन ब्राभोले चौका प्रहार गरे। त्यस बाहेक सन्दिपले ओभरमा नियन्त्रित बलिंग गरे र २ डट बल गर्दै कुल ७ रन खर्चिए। एक किनारमा लगातार दबाब दिने काम सन्दिपले निरन्तर गरे।

सन्दिपको चौथो ओभर :- १० रन ( १ , ४ , २ , ० , १ , २ ) 

१५ औं ओभरमा सन्दिपले दोश्रो विकेट लिन चुके। तेश्रो बलमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउन पुग्दा सन्दिप निरास भए। त्यसको ठिक अघिको बलमा मुनरोले चौका हिर्काएका थिए। ओभरमा सन्दिपले कुल १० रन खर्चिए र स्पेल अन्त्य गरे।

पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध सदिपको प्रदर्शन 

यस अघि सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध सन्दिपले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। पहिलो खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। यस क्रममा २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराएका थिए।

यो पनि पढ्नुस :-

खेलाडीको तलब निकासा गर्न क्यानले आईसीसीलाई खेलाडीहरुको सुची पठायो

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

राजस्थान र पन्जाब आईपीएल खेल्न युएई प्रस्थान ( फोटो फिचर )

CPL : जमैकाद्वारा सेन्ट लुसिया पराजित, राम्रो रह्यो सन्दिपको प्रदर्शन

२ जना दक्षिण अफ्रिकी क्रिकेटरमा देखियो कोरोना

‘२०२३ विश्वकपसम्म खेल्छु’ फिन्च





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]