पोलार्ड कप्तानीको ट्रिनबागो बन्यो सिपिएल टि-२० च्याम्पियन

काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० को आठौँ सिजनको उपाधि जितेको छ। ब्रायन लारा स्टेडियममा सम्पन्न फाइनलमा डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो। उपाधि जित्ने क्रममा लिगको सबै १२ खेलमा ट्रिनबागो अपराजित रह्यो।

खेलमा पहिले ब्याटिंग गर्दै सेन्ट लुसियाले दिएको १५५ रनको लक्ष्य ट्रिनबागोले २ विकेट गुमाएर १२ बल बाँकी छदै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर टायन वेब्स्टर ५ रन तथा टिम सेफर्ट ४ रन बनाएर आउट भएपछि चौथो ओभरमा ट्रिनबागो १९/२ को अवस्थामा पुगेको थियो। त्यसपछि लेन्डल सिमोन्स र डेरेन ब्राभोले अविजित शतकीय साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। प्लेयर अफ द म्याच चुनिएका सिमोन्सले अविजित ८४ रन बनाउने क्रममा ४९ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। ब्राभोले ४७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५८ रन बनाए।

सिमोन्सले अविजित ८४ रन बनाए

१६ ओभरको समाप्तिअ ११४/२ को अवस्थामा रहेको ट्रिनबागोले १७ औं ओभरमा जाहिर खानले गरेको एकै ओभरमा २३ रन बटुल्दा जित सहज बनेको थियो। उक्त ओभरमा डेरेन ब्राभोले २ तथा सिमोन्सले १ छक्का र १ चौका प्रहार गर्दै आवस्यक रन रेट घटाएका थिए।

सेन्ट लुसियाको बलिंगमा स्कट कग्लायन ( ४-०-३०-१ ) र रोस्टन चेज ( ४-०-१३-१ ) ले १/१ विकेट लिए। जाहिर खानले २ ओभरमा २८ रन खर्चिए।

पोलार्डको उत्कृस्ट बलिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको सेन्ट लुसियाले १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो।

जुक्सकको लागि विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले सर्वाधिक ३९, मार्क डेयालले २९, नजिबुल्लाह जद्रानले २४ तथा रोस्टन चेजले २२ रन बनाए। रखिम कर्नवालले ८, मोहम्मद नाबीले २ तथा कप्तान डेरेन सामीले ८ रन मात्र बनाउन सके।

दोश्रो विकेटको लागि डेयाल र फ्लेचरले सर्वाधिक ६७ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी फवाद एहमदले नवौं ओभरमा तोडेपछि सेन्ट लुसियाले नियमित अन्तरालमा विकेट गुमाएको थियो।

पोलार्डले ४ विकेट लिए

ट्रिनबागोको बलिंगमा कप्तान काइरन पोलार्डले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। अलि खान र फवाद एहमदले समान २ विकेट लिए।

काइरन पोलार्ड प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए जसले बलिंगमा ८ विकेट तथा ब्याटिंगमा २०७ रन बनाए। प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्रिनबागोका लेन्डल सिमोन्स भए जसले ११ खेलमा ३५६ रन बनाए। प्रतियोगिताको सर्वाधिक विकेटकर्ता सेन्ट लुसियाका फास्ट बलर स्कट कग्लेजिन भए जसले ११ खेलमा १७ विकेट लिए।

लिग अन्तर्गत पहिलो सेमीफाइनलमा नाइट राइडर्सले जमैका तलावाजलाई ९ विकेटले तथा दोश्रो सेमीफाइनलमा जुक्सले गायना अमेजन वारियर्सलाई १० विकेटले सहजै पराजित गर्दै फाइनामा स्थान पक्का गरेको थियो। यस अघि लिग चरणको अंकतालिकामा ट्रिनबागो सबै १० खेलमा जित पछि २० अंकका साथ शिर्ष स्थानमा रहँदै तथा सेन्ट लुसिया १० खेलमा ६ जित र ४ हार पछि १२ अंक बटुल्दै तेश्रो स्थानमा रहेर सेमीफाइनल पुगेको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-t20-purple-cap-win-list/

https://wicketnepal.com/jonty-rhodes-sweden-coach-wn20/

https://wicketnepal.com/talab-rashtriy-kheladi-wn20/

https://wicketnepal.com/uae-pitch-not-high-scoring-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy