रोमान्चक फाइनलमा गोल्डेनगेट स्तब्ध, ट्रिटनलाई कलेज क्रिकेट लिगको उपाधि

२०७५ चैत्र १७, आईतवार १९:४८

  • विकेटनेपाल, चैत-१७ , आइतबार 

ट्रिटन इन्टरनेशनल कलेजले ‘गोल्डेन गेट कलेज क्रिकेट लिग ट्वान्टी ट्वान्टी’ प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको निकैनै रोमाञ्चक फाइनलमा ट्रिटनले नेपाली अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका स्टारहरुले भरिपूर्ण गोल्डेन गेटलाई ५ विकेटले पराजित गर्यो।

टस हारि पहिलो ब्याटिङ्ग गरेको गोल्डेन गेटले दिपेन्द्र सिँह ऐरिको अर्धशतकको मद्दतमा ७ विकेट गुमाउदै १ सय २६ रन बनायो । जवाफमा प्रदिप ऐरिले अविजित ४५ र बिक्रम सोबले ६ बलमा महत्वपूर्ण १७ रनको इनिङ्गस खेलेपछि ट्रिटनले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो।

जितसँगै ट्रिटनले २ लाख २२ हजार दुई सय २२ रुपैया प्राप्त गर्यो भने गोल्डेन गेटले एक लाख ११ हजार एक सय ११ रुपैयामा चित्त बुझायो।

सामान्य लक्ष्य पछ्याउने क्रममा ट्रिटनले १६ रनमै दुई विकेट गुमाएको थियो तर प्रदिपले आदिल खानसँग तेश्रो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई खेलमा कायम राखेका थिए।

राष्ट्रिय टोलीमा भर्खरै प्रवेश गरेका अविनाश बोहोराले आदिल र बिनोद भण्डारी (११) लाई बोल्ड गरे भने किरण ठगुन्ना अमर सिँह रौटेलाको बलमा आउट भएपछि गोल्डेन गेट खेलमा फर्किएको थियो ।

अन्तिम ८ बलमा १५ रन चाहिएको अवस्थामा बिक्रमले १९ औं ओभरको अन्तिम दुई बलमा अविनाशलाई छक्का प्रहार गरेपछि ट्रिटनका लागि जित सहज बनेको थियो । अन्तिम ओभरको पहिलो दुई बलमै उसले जित आत्मसात गर्यो ।

ट्रिटनका लागि प्रदिप ४५ बलमा ४५ रनमै नटआउट रहे । उनले तीन चौका प्रहार गरे । प्रतियोगिताकै उत्कृष्ट ब्याट्स्म्यान घोषित भएका आदिलले दुई चौका र दुई छक्का प्रहार गर्दै ३२ बलमा ३३ रन बनाए । नन्दन यादव र दिपेन्द्रले गोल्डेन गेटका लागि पहिलो दुई विकेट लिएका थिए ।
यसअघि गोल्डेन गेटले पनि खराब शुरुवात गर्दै पहिलो ८ रन भित्र शरद भेषावकर र अनिल कुमार साहको विकेट गुमाएको थियो । दिपेन्द्रले तेश्रो विकेटका लागि सुमित महर्जनसँग ४२ रनको साभेदारी गर्दै टिमलाई सम्हालेका थिए।

सुमितले २४ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २० रन बनाए। १८ औं ओभरमा आउट भएका दिपेन्द्रले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए। प्रतियोगितामा एक शतक पनि प्रहार गरेका दिपेन्द्रले दोश्रो अर्धशतक बनाएका हुन्।

दिपेन्द्र र सुमित बाहेक गोल्डेन गेटका लागि जितेन्द्र सिँह ठकुरी (१६) र सोनु तामाङ्ग (११ नटआउट) ले दोहोरो अंकमा रन बटुलेका थिए । म्यान अफ द फाइनल बिक्रमसँगै ललित नारायण राजबंशी र अरुण ऐरिले ट्रिटनका लागि दुई/दुई विकेट लिएका थिए।

प्रतियोगिता भर शानदार ब्याटिङ्गका साथै उत्कृष्ट बलिङ्ग पनि गरेका दिपेन्द्र म्यान अफ द सिरिज घोषित भए । उनले २५ हजार रुपैया प्राप्त गरे । यस्तै १० विकेट लिएका काठमाडौं युनिभर्सिटीका रुपेश श्रीवास्तव उत्कृष्ट बलर घोषित भए । आदिल र उनले जनही १० हजार प्राप्त गरे ।
युनिभर्सिटि क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।

Best Bowler – Rupesh Shriwastav , Player of the Series – Dipendra Airee, Best Batsman – Aadil Khan

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy