यु-१९ एसिया कप : अफगानिस्तानसंग पाकिस्तान स्तब्ध, भारतको सहज जित

२०७६ भाद्र २०, शुक्रबार ०७:४८

अन्डर-१९ एसिया कप बुधबार देखि श्रीलंकामा सुरू भएको छ। प्रतियोगिता अन्तर्गत पहिलो दिन २ वटा खेलहरु सम्पन्न भए जसमा भारत र अफगानिस्तानले जित हात पार्यो।

समुह ‘ए’ अन्तर्गत रहेको भारतले कुवेतलाई ७ विकेटले सहजै पराजित गर्यो जुन क्रममा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १११ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्यो। वर्षाका कारण खेल २३ ओभरमा घटाएर खेलाईएको थियो। भारतको जितमा बलिंगमा आकास सिंह र पुरनांक त्यागिले सर्वाधिक ३/३ विकेट लिए भने ब्याटिंगमा अर्जुन आजदले अविजित ६० रन बनाए।

अफगानिस्तानसंग पाकिस्तान स्तब्ध 

समुह ‘ए’ अन्तर्गतनै दोश्रो खेलमा पाकिस्तानलाई अफगानिस्तानले स्तब्ध पार्यो। वर्षाका कारण ४६ ओभरमा घटाइएको खेलमा टस हारेर ब्याटिंग गरेको अफगानिस्तानले ९ विकेट गुमाएर १६२ रन बनाएको थियो।

अफगानिस्तानको लागि सेदिकुल्लाह अटलले सर्वाधिक २९ , रहमनुल्लाहले २७ रन बनाए। एक समय १२८/९ को अवस्थामा रहेको बेला दशौँ विकेटको लागि जम्शिद खान र नुर एहमदले अविजित ३४ रनको साझेदारी गरेपछि अफगानिस्तानले पुरै ४६ ओभर ब्याटिंग गरेको थियो। पाकिस्तानको बलिंगमा आमिर अलि र फहाद मुनिरले ३/३ विकेट लिए।

१६३ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवात देखि लगातार विकेट गुमाएको पाकिस्तान कहिल्यै सम्हालिन सकेन र १९.४ ओभरमा ७८ रनमै समेटिन पुग्यो। कप्तान रोहेल नाजिरले १६ तथा इरफान खानले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अफगानिस्तानको बलिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका शाफिकुल्लाह घफारीले ३ तथा फजल हक, अबिदुल्लाह तनिवल र नुर एहमदले समान २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार समुह ‘बि’ अन्तर्गत दुइ खेल खेलिनेछन्। पहिलो खेलमा श्रीलंका र नेपाल तथा दोश्रो खेलमा बंगलादेश र युएईले प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय ९:४५ बजे सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy