युएईमा जारि अन्डर-१९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशको यु-१९ टिमसंग १५४ रनले पराजित भएको छ।
शारजाह क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपालले ४२.३ ओभरमा १४३ रनमा सम्पूर्ण विकेट गुमायो।
नेपालको ब्याटिंगमा गुल्सन झाले सर्वाधिक ३५ रन, बिबेक मगरले ३३ रन, बिबेक यादवले २६, अर्जुन साउदले १५ तथा देव खनालले १२ रन योगदान दिए। नेपालको सुरुवात खराब रह्यो र पहिलो ६ विकेट ८१ रनमै गुमाउन पुग्यो। सातौँ विकेटको लागि बिबेक यादव र गुल्सन झाले ६० रनको साझेदारी गरे। ४१ औं ओभरमा बिबेक आउट भएपछि नेपालले १४१/६ बाट थप २ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
बंगलादेश बलर हसन साकिब, रकिबुल हसन, एसएम मेहरुब र नैमुर रोहमनले समान दुई विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा २९७ रन बनाएको थियो।
बंगलादेशको ब्याटिंगमा मोहम्मद प्रान्तिक नवरोजले सर्वाधिक १२७ रन बनाए जुन क्रममा ११२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। मोहम्मद फहिमले ५८, ऐच मोल्लाहले २२, इफ्तिखार होसेन र मेहरोब हसनले समान २१ तथा मोहम्मद महफिजुल इश्लाम ले १७ रन बनाए। १०५ रनमा ३ विकेट गुमाएको अवस्थामा प्रान्तिक र फहीमले ११७ रनको साझेदारी गरे। फहीम अर्धशतक पुरा गरेर रिटायर्ड हर्ट भए जसपछि प्रान्तिक र मेहेरोब हसनले ६२ रनको साझेदारी गरे।
नेपालको बलिंगमा गुलसन झा ( १०-०-६०-१ ) , तिलक राज भण्डारी ( ६-०-३१-१ ) र आदील अन्सारी ( ७-०-४३-१ ) ले समान एक विकेट लिए। दुर्गेश गुप्त ( ९-०-५९-० ) , बसिर एहमद ( ८-०-३६-० ) र देभ खनाल ( ७-१-३०-० ) विकेटविहिन रहे।
प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर २६ तारिखमा श्रीलंकासंग तथा तेश्रो खेल खेल डिसेम्बर २८ तारिखमा कुवेतसग खेल्ने तालिका छ। समुह चरणमा तिन वटा खेल पछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम सेमीफाइनल पुग्नेछ।
८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘बि’ मा छ जुन समुहमा बंगलादेश, श्रीलंका र कुवेत छ। समुह ‘ए’ मा भारत, पाकिस्तान,अफगानिस्तान र आयोजक युएई छ।