रोमान्चक खेलमा बंगलादेश ५ रनले पराजित, भारतलाई यु-१९ एसिया कपको उपाधि

मात्र १०७ रनको लक्ष्य पछ्याउन नसक्दा बंगालदेशले पहिलो पटक अन्डर-१९ एसिया कप जित्ने मौका गुमाएको छ। श्रीलंकामा शनिबार सम्पन्न अन्डर-१९ एसिया कपको फाइनलमा भारतले लगातार दोश्रो उपाधि जित्ने क्रममा ५ रनको जित निकाल्यो।

८ वटा एसिया कप हालसम्म सम्पन्न हुँदा भारतले जितेको यो सातौँ उपाधि हो। २०१२ को संस्करणमा भारत र पाकिस्तान बीचको खेल बराबरी हुँदा उपाधि बाँड्नु परेको थियो भने २०१७ को उपाधि अफगानिस्तानले जितेको थियो। बंगलादेश पहिलो पटक यु-१९ एसिया कपको फाइनल पुगेको थियो। प्रतियोगिताको सेमीफाइनलमा भारत र श्रीलंका तथा अफगानिस्तान र बंगलादेश बीचको खेल वर्षाको कारण रद्द हुँदा समुह चरणको प्रदर्शनको आधारमा भारत र बंगलादेश फाइनल प्रवेश गरेका थिए।

आर प्रेमदासा स्टेडियममा सम्पन्न फाइनलमा टस जितेर भारतले ब्याटिंग गर्दै दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ३२.६ ओभरमा १०१ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात खराब रहेको थियो। शिर्ष स्थानका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकी पेभेलियन फर्किए। फलस्वरूप पहिलो ६ विकेट बंगलादेशले ५१ रनमै गुमाउन पुग्यो।

त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गरेका कप्तान मोहम्मद अकबर अलि र आठौँ नम्बरका मोहम्मद मृत्युन्जोयले सातौँ विकेटको लागि साझेदारी गर्दै टिमलाई जिततर्फ लैजाने प्रयास गरे। अलि २३ रन तथा मृत्युन्जय २१ रन बनाएर आउट भए पछि बंगलादेश ७८/८ को स्थितिमा पुग्यो।

नवौं विकेटको लागि तन्जिम हसन र रकिबुल हसनले २३ रनको साझेदारी गर्दा बंगलादेश जित नजिक पुग्यो। जितको लागि मात्र ६ रन बाँकि हुँदा तन्जिम हसन ११ रन बनाएर आउट भए। अथर्भ अन्कोलेकरले त्यसै ओभरको अन्तिम बलमा अलोमलाई बोल्ड गर्दै भारतलाई खेल जिताए।

उत्कृस्ट बलिंग गरेका अथर्भ अन्कोलेकरले ५ विकेट लिए जुन क्रममा ८ ओभरमा २ मेडन ओभर गर्दै २८ रन खर्चिए।

टस जितेर ब्याटिंग गर्ने क्रममा भारतले सुरुवात देखि लगातार विकेट गुमाउन पुगेको थियो। आठौँ नम्बरमा ब्याटिंग गरेका कारन लालले सर्वाधिक ३७ , कप्तान ध्रुभ चन्द जुरेलले ३३ तथा शास्वत रावतले १९ रन बनाउनु बाहेक अन्य भारतीय ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

३२.४ ओभरमा भारतलाई अल आउट गर्न बंगलादेश बलर मोहम्मद शमिम होसेन र मोहम्मद मृत्युन्जोयले ३/३ विकेट लिएका थिए।

प्रतियोगितामा नेपाल भने समुह चरणमा श्रीलंका र बंगलादेशसंग पराजित हुँदै समुह चरणबाट बहीरिएको थियो। अन्तिम खेलमा नेपालले युएईलाई भने पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy