काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ ।एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिता युएईमा आयोजना हुदैछ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिईएको छ ।
पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाउदा अर्का पूर्व राष्ट्रिय क्रिकेटर धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक तोकिएको छ । यो साता बिराटनगरमा सम्पन्न यु-१९ राष्ट्रिय प्रतियोगितामा गौचन लुम्बिनी प्रदेशको प्रशिक्षक थिए जो प्रतियोगिताको उप-विजेता भएको थियो। सहायक प्रशिक्षक चन्दले भने प्रतियोगिताको विजेता टिम सुदूरपश्चिमको प्रशिक्षण सम्हालेका थिए।
नेपाली सिनियर राष्ट्रिय टिमको लागि यो वर्ष फेब्रुअरीमा डेब्यु गरिसकेका दायाँ हाते पेसर हेमन्तले यो साता सम्पन्न यु-१९ राष्ट्रिय प्रतियोगितामा विजेता टिम सुदूरपश्चिम प्रदेशको कप्तानी सम्हालेका थिए। सुदूरपश्चिम फाइनल खेलमा लुम्बिनी प्रदेश विरुद्ध ८ रनले विजयी हुँदा धामी ४ विकेट लिंदै प्लेयर अफ द फाइनल घोषित भएका थिए। उपकप्तान घोषित कुमालले यो वर्ष यु-१९ विश्वकपमा सहभागिता जनाएका थिए भने नेपाल ‘ए’ बाट समेत यो वर्ष अप्रिलमा आयरल्याण्ड ‘ए’ विरुद्ध डेब्यु गरिसकेका छन्।
कुमाल सहित यो वर्ष जनवरीमा दक्षिण अफ्रीकामा आयोजित यु-१९ विश्वकपमा नेपाली टिममा रहेका अन्य तिन क्रिकेटर टिममा छन्। लुम्बिनी प्रदेशका आकाश त्रिपाठी, बागमती प्रदेशका उत्तम थापा मगर विश्वकप टिममा थिए। कुमाल, त्रिपाठी र मगरले यु-१९ एसिया कपमा नेपालको माथिल्लो क्रम सम्हाल्नेछन्। हेमन्त धामीले भने चोटका कारण अन्तिम समयमा यु-१९ विश्वकप गुमाएका थिए जसको स्थान देब्रे हाते पेसर दुर्गेश गुप्ताले लिएका थिए।
घोषित टिममा यु-१९ राष्ट्रिय प्रतियोगितामा प्लेयर अफ द घोषित लुम्बिनी प्रदेशका सन्तोष यादवलाई समावेश गरिएको छ। यस अघि नेपाली यु-१६ टिमको प्रतिनिधित्व गरिसकेका यादवले प्रतियोगिताको ७ खेलमा २७ विकेट लिनुको साथै १८१ रन समेत बनाएका थिए। देब्रे हाते स्पिनर यादवले फाइनलमा सुदूरपश्चिम विरुद्ध ५ विकेट ( ५/२८ ) तथा लिग चरणमा कर्णाली प्रदेश विरुद्ध ६ विकेट ( ६/१९ ) लिएका थिए। त्यस्तै उनले सुदूरपश्चिम विरुद्ध लिग चरणमा ४ विकेट ( ४/३४ ), बागमती विरुद्ध ३ विकेट ( ३/२४ ), गण्डकी विरुद्ध ३ विकेट ( ३/४ ) तथा मदेश प्रदेश विरुद्ध पनि ३ विकेट ( ३/१५ ) लिएका थिए। त्यस्तै उनले बागमती विरुद्ध अर्धशतक ( ६३ रन ) पनि बनाएका थिए। प्रतियोगितामा शानदार लय देखाएका यादव यु-१९ टिमको मेरुदण्ड बन्ने आशा गरिएको छ।
यादव पछि देब्रे हाते स्पिनरको रुपमा गण्डकी प्रदेशका अप्राजित पौडेलले टिममा मौका पाएका छन्। पौडेलले ६ खेलमा १९ विकेट लिएका थिए। प्रतियोगितामा समान १९ विकेट लिएका अर्का देब्रे हाते स्पिनर रमेश कुर्मीले भने ठाउँ पाएनन्। देब्रे हाते स्पिनरको रुपमा नेपाल ‘ए’ टिमको प्रतिनिधित्व गरिसकेका मधेश प्रदेशका रञ्जित कुमारले स्थान पाएका छन्। कुमारले यो वर्ष आयरल्याण्ड ए विरुद्ध नेपाल ‘ए’ को लागि लिस्ट ए डेब्यु गरेका थिए। कुमारले यु-१९ राष्ट्रिय प्रतियोगिताको ६ खेलमा १२ विकेट लिए।
कर्णाली प्रदेशका अफ स्पिनर युनिश बिक्रम सिंह ठकुरीले पनि टिममा मौका पाएका छन्। कर्णालीको सिनियर टिमको लागि खेल्दै आएका ठकुरी यु-१९ राष्ट्रिय प्रतियोगितामा ६ खेलमा १७ विकेट लिंदै शिर्ष-५ विकेटकर्ताको सूचीमा थिए।
यु-१९ राष्ट्रिय प्रतियोगिताका सर्वाधिक रनकर्ता तथा उत्कृस्ट ब्याटर घोषित भएका कोशी प्रदेशका सोनु अन्सारीलाई भने टिममा स्थान दिईएको छैन। अन्सारीले ६ खेलमा १ अर्धशतक मद्दतले २०९ रन बनाएका थिए। सामाजिक संजालमा अन्सारीको उमेरलाई लिएर धेरै आलोचना भएको थियो।
यु-१९ राष्ट्रिय प्रतियोगितामा दोश्रो सर्वाधिक रनकर्ता बागमती प्रदेशका रोशन विश्वकर्मालाई टिममा समावेश गरिएको छ। ६ खेलमा २ वटा अर्धशतक मद्दतले १९१ रन बनाएका विश्वकर्माले १०२. १३ को उत्कृस्ट स्ट्राइक रेटमा रन बनाएका थिए।
यो वर्ष आयरल्याण्ड ए विरुद्ध नेपाल ‘ए’ को लागि डेब्यु गरेका सुदूरपश्चिम प्रदेशका ब्याटर नरेन भट्टलाई टिममा समावेश गरिएको छ। गत संस्करणको प्रधानमन्त्री कपमा शतक बनाउदै चर्चा कमाएका भट्टले यु-१९ राष्ट्रिय प्रतियोगिताको ७ खेलमा १७४ रन बनाएका थिए। यस्तै नेपाल ‘ए’ बाट खेलीसकेका मधेश प्रदेशका ब्याटर मायान यादव पनि टिममा छन्। प्रधानमन्त्री कपमा शतक बनाउदै चर्चा कमाएका अर्का ब्याटर यादवले क्यानडा एघारसंग नेपाल ‘ए’ डेब्यु गरेका थिए। यु-१९ राष्ट्रिय प्रतियोगितामा यादवले ६ खेलमा १५२ रन बनाए।
लुम्बिनी प्रदेशका विकेटकिपर ब्याटर दिलशाद अलिलाई टिममा समावेश गरिएको छ। दिलशादले यु-१९ रास्ट्रियमा ७ खेलमा १ अर्धशतक मद्दतले ११० रन बनाएका थिए। उनि बाहेक उत्तम थापा मगर र अर्जुन कुमाल पनि विकेटकिपर हुन्।
घोषित टिममा लेग स्पिनरको रुपमा सुदूरपश्चिम प्रदेशका युवराज खत्रीलाई समावेश गरिएको छ। यु-१९ राष्ट्रिय आफ्नो ब्याटिंग मार्फत पनि प्रभावित बनाएका खत्रीले ७ खेलमा १२ विकेट लिनुको साथै १४२ रन पनि बनाएका थिए। उक्त प्रतियोगिताको ६ खेलमा १५ विकेट लिएका सुदूरपश्चिमकालेग स्पिनर सचिन भट्ट तथा ६ खेलमा १४ विकेट लिएका बागमती प्रदेशका दिपक सेरेलाले भने मौका पाएनन्।
टिममा फास्ट बलरको रुपमा कोशी प्रदेशका बिपिन महतो, बागमती प्रदेशका देब्रे हाते पेसर दयानन्द मण्डल, मदेश प्रदेशका दायाँ हाते पेसरद्वय अभिषेक तिवारी र राजेश यादवलाई समावेश गरिएको छ। यु-१९ राष्ट्रियमा बिपिन महतोले ६ खेलमा १६ विकेट लिएका थिए जुन क्रममा मधेश प्रदेश विरुद्ध एकै खेलमा ७ विकेट लिएका थिए। यस्तै दयानन्द मण्डलले ६ खेलमा १३ विकेट, अभिषेक तिवारीले ६ खेलमा ८ विकेट तथा राजेश यादवले ६ खेलमा ९ विकेट लिएका थिए। अभिषेक तिवारीले नेपाली यु-१६ राष्ट्रिय टिमको कप्तानी सम्हालीसकेको अनुभव छ भने मधेश प्रदेशको सिनियर टिमको लागि समेत खेल्ने गर्छन्।
घोषित नेपाली यु – १९ टिम : हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अप्राजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार
एसिया कपमा नेपालको खेल तालिका
यु-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासंग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसंग तथा तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ।
५० ओभरमा हुने खेल युएईमा आयोजना हुदैछ । एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका २ विजेताबीच मंसिर २३ मा फाइनल खेल हुनेछ ।