यु–१९ महिला राष्ट्रिय क्रिकेट : कर्णालीद्वारा सुदूरपश्चिम पराजित

कैलालीको धनगढीमा आइतवारबाट मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी सुरुवात गरेको हो।

स्कोरकार्ड, अंकतालिका

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो। ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका लागि पवित्रा धामीले अजिवित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन। सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिइन। उसका श्रीमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले समान २/२ तथा विना थापाले १ विकेट लिइन्।

त्यसअघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डोर्‍याए किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन्। बलिङतर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन। खेलको प्लेयर अफ दी म्याच कर्णालीकी एन्जीला थापा भइन्।

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरी रेग्मीले बताए। ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ।

( साभार – दिनेशखबर )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy