सक्रियको ५ विकेटमा बागमतीको लगातार चौंथो जित, मधेशको तेश्रो हार

कर्णाली प्रदेश विरुद्ध ७ विकेटको जित दर्ता गर्दै बागमती प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौंथो जित हात पारेको छ। आजै सम्पन्न दोश्रो खेलमा प्रदेश-१ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गर्यो।

टियु मैदान कीर्तिपुरमा कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्ने क्रममा कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर भेटायो।

बागमतीको जितमा कप्तान अशोक पौडेलले सर्वाधिक ५९ रन बनाए भने लकी कडायतले अविजित ५१ रन बनाए। अशोक र लकीले दोश्रो विकेटको लागि १०५ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

टस जितेर ब्याटिंग गरेको कर्णालीले ३६.२ ओभरमा १३० रनमा सबै विकेट गुमायो। कर्णालीका ओपनर तथा कप्तान बिपिन रावलले सर्वाधिक ६८ रन तथा मानिस थापाले २५ रन बनाए।

बागमतीका फस्ट बलर सक्रिय कार्कीले सर्वाधिक ५ विकेट लिए। प्लेयर अफ द म्याच घोषित उनले ७.२ ओभरमा मेडन ओभर गर्दै २३ रन खर्चिए। एहमद राजाले ३ तथा ओमकार यादव र अविशेक कोइरालाले १/१ विकेट लिए।

प्रदेश-१ को शानदार जित 

मुलपानी मैदानमा सम्पन्न दोश्रो खेलमा मधेश प्रदेशलाई प्रदेश-१ ले १० विकेटले सहजै पराजित गर्यो।

मधेशले दिएको ७१ रनको सामान्य लक्ष्य प्रदेश-१ ले विकेट नगुमाई १९.२ ओभरमा भेटायो। ओपनरद्वय सोनु अन्सारीले अविजित ४५ तथा सुभन गहतराजले अविजित २४ रन बनाए।

टस जितेर ब्याटिंग गरेको मधेशले ३१.३ ओभरमा ७० रनमा सबै विकेट गुमायो। मायान यादवले १९ तथा डब्लु मलिकले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रदेश-१ को बलिंगमा कप्तान दिपेश कंडेल र बिपिन महतोले ३/३ विकेट लिए। संदेश भट्टराईले २ तथा आशिष मगर र अस्विन महतोले १/१ विकेट लिए।

अंकतालिका 

जितपछि बागमती ४ खेलमा ८ अंकको साथ अंकतालिकामा दोश्रो स्थानमा छ। समान नतिजा सहित सुदूरपश्चिमले नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ। लुम्बिनी प्रदेश ३ खेलमा ४ अंक सहित तेश्रो तथा प्रदेश-१ ४ खेलमा ४ अंक सहित चौंथो स्थानमा छ। कर्णाली ४ खेलमा २ अंक सहित पाँचौ स्थानमा छ। लगातार तेश्रो हार पछि मधेश प्रदेश अन्तिम स्थानमा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy