काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
टियु मैदान कीर्तिपुरमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै लगातार पाँचौ जित हात पार्यो। मधेशको यो लगातार चौंथो हार हो।
मधेशले दिएको १२३ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट क्षेतीमा १८.५ ओभरमै भेटायो। सुदूरपश्चिमका ओपनर दिपक बोहराले सर्वाधिक ५३ रन बनाए। अर्का ओपनर दिपक बोहराले २४ तथा गजेन्द्र बोहराले अविजित २३ रन बनाए।
टस जितेर ब्याटिंग गरेको मधेशले ३८.१ ओभरमा १२२ रन मात्र बनाउन सक्यो। उसको लागि अलि अन्सारीले सर्वाधिक ३२, इमरान शेखले २८ तथा मायान यादवले २३ रन बनाए।
सुदूरपश्चिमका देब्रे हाते स्पिनर नरेन साउदले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ९.१ ओभरमा १ मेडन ओभर गर्दै २४ रन खर्चिए। हेमन्त धामीले ३ विकेट लिंदै सुरुवात देखि दबाब बनाए। पहिलो खेल खेल्ने क्रममा युवराज खत्रीले २ विकेट लिए जुन क्रममा ९ ओभरमा मात्र १५ रन खर्चिए।

बागमतीको पहिलो हार, लुम्बिनीको फाइनल सम्भावना कायमै
मुलपानी मैदानमा जितको लागि अत्यावस्यक खेलमा लुम्बिनी ८५ रनले विजयी भयो जुन क्रममा लुम्बिनीले दिएको २३५ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले ३५.३ ओभरमा १४९ रनमा सबै विकेट गुमायो।
बागमतीका कप्तान अशोक पौडेलले सर्वाधिक ३१, प्रतिक श्रेष्ठले २७, रोशन बिकले २३ रन बनाए।
लुम्बिनीका बलर दुर्गेश गुप्ताले ४ विकेट लिए जुन क्रममा ५.३ ओभरमा १५ रन खर्चिए। अभिषेक गौतम र तुल बहादुर थापाले २/२ तथा निर्मल गुरुङ र नर सार्कीले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरको लुम्बिनीले ४९ ओभरमा २३४ रनमा सबै विकेट गुमायो।
लुम्बिनीको लागि ओपनरद्वय देव खनालले ४६ तथा आकाश त्रिपाठीले ४० रन बनाए। दुर्गेश गुप्ताले ३८, तुल बहादुर थापाले २८ तथा विशाल भुसालले २० रन बनाए। देव र आकाशले ७२ रनको ओपनिंग साझेदारी गरेका थिए। नवौं विकेटको लागि तुल बहादुर र दुर्गेशले ५१ रनको साझेदारी गरे।
बागमतीका बलर प्रतिक श्रेष्ठले ३ विकेट लिए। अविशेक कोइराला र ओमकार यादवले २/२ तथा एहमद राजा र योगेश भाटले १/१ विकेट लिए।
अंकतालिका र आगामी खेल
लुम्बिनीले बागमतीलाई पराजित गरेसंगै लुम्बिनीको फाइनल पुग्ने सम्भावना कायमै छ। ४ खेल खेल्दा लुम्बिनीले ३ जित र १ हार बेहोर्दै ६ अंक बटुलेको छ। पहिलो हार पछि बागमती प्रदेश ५ खेलमा ८ अंक सहित दोश्रो स्थानमा छ। एक खेल खेल्न बाँकी हुँदा सुदूरपश्चिमले ५ खेलमा १० अंक बटुल्दै शिर्षमा छ।
लुम्बिनीले बाँकी दुई खेलमा बिहिबार प्रदेश-१ संग तथा शनिवार मधेश प्रदेशसंग खेल्ने तालिका छ। बागमती प्रदेशले अन्तिम खेलमा शुक्रबार सुदूरपश्चिमसंग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमले अन्तिम खेलमा बागमतीलाई पराजित गरेमा लिग चरणको विजेताको रुपमा फाइनल पुग्नेछ। उक्त खेलमा बागमती पराजित भए लुम्बिनीको नतिजामा शिर्ष-२ मा रहँदै फाइनल पुग्ने नपुग्ने तय हुनेछ। बागमतीले सुदूरपश्चिमलाई पराजित गर्ने र लुम्बिनीले बाँकी दुई खेलमा जित दर्ता गर्ने हो भने ६ वटै खेल खेल्दा सुदूरपश्चिम, बागमती र लुम्बिनीको समान १० अंक हुनेछ। यो अवस्थामा नेट रन रेटमा अघि हुने दुई टिम फाइनल पुग्नेछ।
सुदूरपश्चिमको नेट रन रेट बागमती ( १.२२१ ) र लुम्बिनीको ( ०.५०३ ) भन्दा हाल निकै माथि ( २.७३२ ) छ। यो अवस्थामा अन्तिम खेलमा बागमतीले पराजित गरेता पनि नेट रन रेटमा सुदूरपश्चिम अघि रहे सुदूरपश्चिम फाइनल पुग्नेछ।