यु-१९ राष्ट्रिय दोश्रो दिन : सुदूरपश्चिम र प्रदेश-१ विजयी

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन सम्पन्न दुई खेलमा प्रदेश-१ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। प्रदेश-१ ले गण्डकी प्रदेशलाई तथा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पराजित गर्यो।

मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले गण्डकी प्रदेशलाई २१ रनले पराजित गर्यो। प्रदेश-१ ले दिएको १८४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८.३ ओभरमा १६२ रन बनाउदा सबै विकेट गुमायो। गण्डकीको यो दोश्रो हार हो। हिजो गण्डकीलाई बागमती प्रदेशले पराजित गरेको थियो।

गण्डकी प्रदेशको लागि करन पंगेनीले सर्वाधिक ४८ रन बनाए। दिपक डुम्रेले २५, अर्जुन कुमालले २२ तथा सुबास भण्डारीले १८ रन बनाए।

प्रदेश-१ का बलर दिपेश कंडेल र अस्विन महतोले ३/३ तथा बिपिन महतो र सोनु अन्सारीले २-२ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले ४९.४ ओभरमा १८३ रनमा सबै विकेट गुमायो।

प्रदेश-१ का ओपनर सोनु अन्सारीले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ९४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। कप्तान दिपेश कंडेलले ३६ तथा फैजल रहमानले २६ रन बनाए।

गण्डकी प्रदेशका बलर शिशिर भुषालले ४ विकेट, निर्तेश गिरिले ३ विकेट, सुबास भण्डारीले २ विकेट तथा सुदिप अर्यालले १ विकेट लिए।

सुदूरपश्चिमद्वारा कर्णाली पराजित, मिलनको अलराउण्ड प्रदर्शन 

दिनको दोश्रो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्यो। कर्णाली प्रदेशले दिएको १२८ रनको लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाएर भेटायो।

सुदूरपश्चिमको लागि मिलन बोहाराले सर्वाधिक ४२ रन योगदान दिए। दिपक बोहरा ( ओपनर ) र दीपक बोहराले ( पाँचौ नम्बर ) समान २० रन बनाए। सुनिल चन्दले अविजित १३ तथा अनुराग सिंहले १० रन बनाए। कर्णालीका फास्ट बलर अनुज चनाराले ३ विकेट तथा सन्दिप शाही र मोहन बिकले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कर्णाली प्रदेशले ३२.३ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो। कर्णालीको लागि दिनेश अधिकारीले सर्वाधिक ३५ रन बनए। सुवास ऐरले ३० , बिपिन रावलले १९ तथा आवाश शाहले १५ रन बनाए। सुदूरपश्चिमका मिलन बोहराले ३, नरेन साउदले २ तथा हेमन्त धामी र कैलाश ऐरले १/१ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy