यु–१९ महिला राष्ट्रिय क्रिकेट: उपाधिका लागि कर्णाली र गण्डकी भिड्ने

२०७८ चैत्र १०, बिहीबार २२:२७

धनगढी: कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै कर्णाली प्रदेश फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिमले बिहीवार बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै कर्णालीसँग अङ्क बराबरी गरेको थियो। तर नेट रन रेटमा कर्णालीसँग पछि परेको सुदूरपश्चिम उपाधि होडबाट बाहिरिएको छ।

फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले बागमतीमाथि ६ विकेटको जित दर्ता गर्‍यो। टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले १८.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८२ रन बनाएको थियो। ८३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ११ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। सुदूरपश्चिमको जितमा सावित्री धामीले अविजित २३ र यशोदा विष्टले अविजित १८ रन बनाइन्। त्यस अघि बागमतीका लागि हेलिशा गुरुङले २२ रन बनाइन्। उसलाई १८.३ ओभरमै रोक्न सुदूरपश्चिमका स्नेहा महरा, अनु खडायत र यशु पाण्डेयले समान २/२ विकेट लिइन्। खेलेको प्लेयर अफ दी म्याच सुदूरपश्चिमकी सावित्री भइन्।

बुधवार लुम्बिनीसँग पराजित भए पनि सुदूरपश्चिमलाई रन रेटमा पछि पारेर फाइनल पुगेको कर्णालीले अब शुक्रबार उपाधिका लागि गण्डकीसँग प्रतिस्पर्धा गर्ने छ। गण्डकी यस अघि नै मधेस प्रदेशलाई पराजित गर्दै फाइन प्रवेश गरिसेकेको छ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए। ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy