यु-१९ विश्वकप छनौट : चौथो खेलमा नेपालको भेट ओमानसंग

  • विकेटनेपाल, बैशाख-२ 

आईसीसी अन्डर-१९ विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।

३ खेल खेल्दा २ जित र १ हार बेहोरेको नेपालले चौथो खेलमा ओमानसंग मंगलबार प्रतिस्पर्धा गर्नेछ। सेलाङ्गोर टर्फ क्लब क्वालालम्पुरमा हुने खेल नेपाली समय बिहान ७:४५ बजे र मलेसिया समय १० बजे सुरु हुनेछ।

प्रतियोगितामा ओमानले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ। ओमानले कुवेतसंग पहिलो खेलमा ८ विकेटको पराजय बेहोरेको थियो जसपछि दोश्रो खेलमा मलेसियालाई ४६ रनले पराजित गरेको थियो। तेश्रो खेलमा ओमानलाई सिंगापुरले ५ विकेटले पराजित गरेको थियो।

ओमानको प्रतियोगितामा नतिजा :-

पहिलो खेल :- कुवेतसंग ८ विकेटले पराजित। ओमान १०५ , कुवेत १०६/२
दोश्रो खेल :- मलेसियासंग ४६ रनले ( डी/एल मेथड ) विजयी। ओमान २११/९ , मलेसिया ९८/६
तेश्रो खेल :- सिंगापुरसंग ५ विकेटले पराजित। ओमान २४४/९ , सिंगापुर १७९/५

ओमानसंग नेपालको इतिहास :- 

ओमान र नेपाल यु-१९ टिम बीच इतिहासमा २ पटक प्रतिस्पर्धा भएको छ जसमा नेपालले सहजै जित हात पारेको थियो।

ओमान यु-१९ टिमसंग नेपालले सन् २०११ मा पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। थाईल्याण्डमा सम्पन्न एसीसी यु-१९ इलाइट कपमा नेपालले ३०४ रनले ओमानलाई पराजित गरको थियो।

खेलमा पहिले ब्याटिंग गरेको नेपालले ३९१ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा ओमान ८७ रनमा सिमित भयो। फैजलुर रहमानले नेपालको लागि शतक बनाउने क्रममा १०१ रन ( ९९ बलमा १० चौका ) बनाएका थिए भने सागर पुनले ८३, प्रदिप ऐरिले ८६ रन बनाएका थिए। बालिगमा राहुल विश्वकर्मले ३ र अभिनाश कर्णले २ विकेट लिएका थिए।

त्यस अघि सन् २००७ मा ओमानलाई नेपालले ८ विकेटले पराजित गरेको थियो। त्यस बेला ओमान ९० रनमा सिमित हुँदा ९१ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको थियो। अमृत भट्टराई, अभय राना, राज श्रेष्ठ र राहुल विश्वकर्माले २/२ विकेट लिएका थिए भने ब्याटिंगमा ज्ञानेन्द्र मल्लले अविजित ५८ रन बनाएका थिए।

नेपालको विश्वकप खेल्ने सम्भावना 

प्रतियोगिताको विजेता टिम २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने अन्डर-१९ विश्वकपमा छनौट हुनेछ।

प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने युएईसंग १ रनले ( डी/एल मेथड ) पराजित भएको थियो। तेश्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्यो। अंकतालिकामा नेपाल दोश्रो स्थानमा रहेको छ भने युएई ३ खेलमा शत प्रतिशत जित सहित पहिलो स्थानमा रहेको छ। ३ खेलमा २ जित र १ हार बेहोरेको कुवेत नेपाल भन्दा नेट रन-रेटमा पछि पर्दै तेश्रो स्थानमा रहेको छ।

विश्वकप छनौट हुने सम्भावना कायम राख्न नेपालले प्रतियोगिताको बाँकी खेल जितेर मात्रै हुनेछैन त्यो संगै युएईले कम्तिमा १ खेल हार्न समेत पर्नेछ। प्रतियोगितामा बलियो देखिएको युएईले मंगलवार सिंगापुरको र बिहिबार ओमानको सामना गर्नेछ। नेपालले सबै खेल जित्दै युएईले ओमान र सिंगापुरसंग हारको कामना गर्नुपर्नेछ।

नेपालले प्रतियोगितामा अब भोलि ओमानसंग र अप्रिल १८ बिहिबार कुवेतसंग प्रतिस्पर्धा गर्नेछ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy