युएईले पायो अस्ट्रेलियासंग खेल्ने ऐतिहासिक मौका

  • विकेटनेपाल, १ कार्तिक 

यसै बर्ष मार्चमा जिम्बाबेमा सम्पन्न एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा  नेपालसंगै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्र र स्वतः टि-२० अन्तर्राष्ट्रियको मान्यता पुनः पाएको युएईले अस्ट्रेलियासंग ऐतिहासिक टि-२० खेल्ने भएको छ।

यस अघि पाकिस्तानसंग टि-२० सिरिज अघि अस्ट्रेलियाले युएईसंग अभ्यास खेल खेल्ने तालिका रहेको थियो। तर पाकिस्तान क्रिकेट बोर्ड र क्रिकेट अस्ट्रेलिया दुवैले अनुमति  दिएपछि युएईसंगको उक्त खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने भएको हो।

अक्टोबर २२ तारिक सोमबार खेलिने खेल युएई समय २ बजे दिउसो जायद क्रकेट स्टेडियममा खेलिनेछ।खेल हेर्न दर्शकहरुले टिकट काट्नु नपर्ने इमिरेट्स क्रिकेट बोर्डले बताएको छ।

शारजाहमा सन् १९९४ को एसिया कपमा भारत र पाकिस्तानसंग खेलेपछि अस्ट्रेलिया युएईसंग खेल्ने सबैभन्दा ठुलो राष्ट्र हुनेछ।

“यति छोटो समयमै आईसीसीले टि-२० लाई अन्तर्राष्ट्रिय मान्यता दिएकोमा हामि कृतज्ञ छौ” इमिरेट्स क्रिकेट बोर्डका सदस्य जायद अब्बासले बताएका छन्।

युएईले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाएपछि खेल्न लागेको यो पहिलो टि-२० अन्तर्राष्ट्रिय हो। युएई बोर्डले आगामी दिनमा पनि पाकिस्तान लगायत अन्य देशसंग यसरीनै युएई भ्रमण गर्ने टिमहरुसंग खेल्ने लक्ष्य लिएको छ।

अस्ट्रेलियाले युएईसंग खेल्ने टिममा आरोन फिन्च, ग्लेन म्याक्सवेल,एन्ड्रु टाई, क्रिस लिन जस्ता खेलाडीहरुलाई समाबेस गरेको छ।

युएईले अस्ट्रेलियासंग खेल्ने मौका पाउदै गर्दा संगै मान्यता पाएको नेपालले भने कहिले एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय मान्यताको सदुपयोग गर्ने हो अनिश्चित छ। मान्यता पाएपछि एमसीसीको भ्रमण बेला पारेर आईसीसीले नेदरल्याण्डसंग ऐतिहासिक २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने मौका जुराएको थियो। अगस्टमा भएको सिरिजमा नेपालले एक जित र एक हार बेहोरेको थियो।

आईसीसीले आगामी बर्ष जनवरी १ , २०१९ देखि सबै एसोसिएट राष्ट्रहरुलाई टि-२० अन्तर्राष्ट्रिय मान्यता दिने घोषणा गरिसकेको छ।

नेपाल र युएई दुवैले एकदिवसीय मान्यता पाए पनि गत महिना मलेसियामा सम्पन्न एसिया कप छनौटबाट एसिया कप छनौट हुन असफल भएको थियो। नेपाल र युएईलाई पछि पार्दै हंगकंगले एसिया कप खेलेको थियो।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy