काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपको पाँचौ खेलमा अफगानिस्तानले युगान्डामाथि फराकिलो जित निकालेको छ ।
वेस्ट इन्डिजको गुयनामा भएको खेलमा अफगानिस्तानले १ सय २५ रनको फराकिलो जित निकालेको हो ।
अफगानिस्तानले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ औं ओभरको अन्तिम बलमा अल आउट हुदै ५८ रन मात्र बनायो ।
युगान्डाका लागि रोविन्सन ओबाईले १४ तथा रिजात अलिले ११ रन बनाए । युगान्डाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
अफगानिस्तानका लागि फैजलहक फारुकीले ४ ओभरमा ९ रन खर्चिएर ५ विकेट लिए । नभिन उल हक र राशिद खानले समान दुई दुई तथा मुजिब उर रहमानले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।
अफगानिस्तानका लागि ओपनरद्वय रहमानउल्लाह गुर्वाज र इब्राहिम जाद्रनले अर्धशतकीय ईनिङ खेले । गुर्वाजले ४५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ७६ तथा जाद्रनले ७६ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७० रन बनाए । पहिलो विकेटका लागि जाद्रन र गुर्वाजले ८७ बलमा १ सय ५४ रनको साझेदारी गरे ।
ओपनरले राम्रो सुरुआत दिलाए पनि मध्येक्रमका ब्याटरले खास प्रदर्शन गर्न असक्षम रहँदा अफगानिस्तानले विशाल लक्ष्य खडा गर्न सकेन ।
युगान्डाका लागि कप्तान ब्रायन मसाबा र कोस्मास काईवाताले समान दुई दुई तथा अल्पस रामजानेले १ विकेट लिए ।
जितसँगै अफगानिस्तान समूह सी को शीर्ष स्थानमा उक्लिएको छ । विश्वकप डेब्यु खेलमा पराजित युगान्डा भने चौथो स्थानमा रहेको छ ।