नेपालसँग खेल्नु अघि बंगलादेशको शानदार जित

२०८१ जेष्ठ १३, आईतवार ०८:०३

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको बंगलादशले अमेरिकामाथि शानदार जित निकालेको छ ।

तीन खेलको टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकामाथि बंगलादेशले १० विकेटको शानदार जित पारेको हो । तर, एक खेल अगावै सिरिज गुमाएको बंगलादेशका लागि यो सान्त्वना जितमा परिणत भयो ।

अमेरिकाले १ सय ४ रनको लक्ष्य बंगलादेशले ११ दशमलब ४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

बंगलादेशका लागि ओपनर तान्जित हसनले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर सौम्य सरकारले २८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए ।

अमेरिकाका लागि ७ बलर प्रयोग भए तापनि कुनै विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

अमेरिकाका लागि ओपनर आन्द्रे गोसले १५ बलमा २७ तथा कोरी एन्डरसन र शाहान जाहान्गरले समान १८/१८ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४ ओभरमा १० रन खर्चिएर ६ विकेट लिए ।

विजयी बंगलादेश आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा हुँदैछ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy