स्टेभेन टेलरले आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल लगातार दोश्रो खेलमा ६ विकेटले पराजित हुन पुगेको छ। अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले मात्र २९.३ ओभरमा मात्र ४ विकेट गुमाएर भेटायो। सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेपछि दोश्रो खेलमा ओमानसंग ५ विकेटले पराजित भएको थियो।
लक्ष्य पछ्याउने क्रममा सन्दिप लामिछानेले इनिंग्सको पाँचौ ओभरमा सुशान्त मोदानी र करिमा गोरेको विकेट लिंदै दबाब बनाएका थिए। तर त्यसपछि डेब्यु गरेका बलर गुल्सन झा महँगो सावित हुँदा अमेरिकाले लय पायो। ओपनर स्टेभेन टेलरले आक्रामक ब्याटिंग गर्दै नेपाललाई खेलमा हावी हुन दिएनन्। २२ रनमा २ विकेट गुमाएपछि टेलरले मोनाक पटेलसंग तेश्रो विकेटको लागि ९७ रनको साझेदारी गरे।
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउन ८ रनले चुकेका टेलरलाई २० औं ओभरमा करन केसीले क्याच आउट गर्दै नेपाललाई खेलमा फर्काए। टेलरले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै ९२ रन बनाए। लगत्तै बलमा करनले संजय कृष्णमुर्तिलाई पनि क्याच आउट गराए। तर मोनाक पटेल र जस्करन मलहोत्राले पाँचौ विकेटको लागि ५६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। पटेलले अविजित ३८ तथा मलहोत्राले अविजित ३६ रन बनाए।
नेपालको बलिंगमासन्दिप लामिछाने ( ८-१-२८-२ ) र करन केसी ( ५-०-२३-२ ) ले समान २ विकेट लिए। डेब्यु गरेका फास्ट बलर गुल्सन झा सहित सोमपाल कामि र सुशन भारि विकेटविहिन रहे। गुल्सन महँगो सावित हुने क्रममा ३ ओभरमा ३१ रन खर्चिए।
यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो।
नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले करियरको तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा १०५ बलमा ३ चौका प्रहार गरे। उनले ९१ बलमा अर्धशतक पुरा गरेका थिए। ओपनर कुशल भुर्तेलले ३६, गुल्सन झाले २८, करन केसीले १२ तथा सन्दिप लामिछानेले ११ रन बनाए। ज्ञानेन्द्रले कुशल भुर्तेल र गुल्सन झासंग दोश्रो र पाँचौ विकेटको लागि ५१ रनको साझेदारी गरे। मल्ल र गुल्सन क्रिजमा रहंदा १४०/४ को अवस्थाबाट गुल्सनको विकेट पछि नेपालले थप ६ विकेट गुमाउदा योगफलमा ३४ रन मात्र थप्न सक्यो।
अमेरिकाको बलिंगमा कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ९ ओभरमा २९ रन मात्र खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल बिरुद्ध यो सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो। यस अघि ओमानका अकिब इल्यासको नाममा यो रेकर्ड थियो जसले गत वर्ष १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए। डेब्यु गरेका अमेरिकी बलर कायल फिलिपले ३ विकेट ( ९-१-४३-३ ) लिए भने करिमा गोरे, एल्ल्मोर हचीन्सन र नोस्थुस केंजिगेले समान १ विकेट लिए।
खेलमा नेपालको लागि गुल्सन झाले डेब्यु गरे जो एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने २७ औं नेपाली खेलाडी बन्न पुगे।
विश्वकप लिग-२ मा अमेरिकाको यो १५ औं खेलमा सातौं जित हो। १४ अंक सहित अंकतालिकामा अमेरिका दोश्रो स्थानमा यथावत रहेको छ। हार पछि नेपाल ७ खेलमा ३ जित र ४ हार पछि ६ अंक सहित छैठौं स्थानमा रहेको छ। नेपालले हारेको ४ मध्ये तिन वटा खेल ओमानसंग हो।
सिरिज अन्तर्गत नेपालले आगामी खेल सेप्टेम्बर १९ तारिखमा ओमानसंग खेल्ने तालिका रहेको छ।
