आईसीसी विश्वकप लिग-२ अन्तर्गत दोश्रो त्रिकोणात्मक सिरिज अमेरिकामा सुरु भएको छ। आयोजक अमेरिका सहित पपुवा न्यु गिनी र नामिबिया सम्मिलित सिरिजको पहिलो खेलमा अमेरिकाले जित हाँसिल गरेको छ।
अमेरिकाले जितको साथ विश्वकप लिग-२ को सुरुवात गर्दा पपुवा न्यु गिनीको भने यो लगातार पाँचौ हार हो। यस अघि पपुवा न्यु गिनीले स्कटल्याण्ड र ओमानसंगको त्रिकोणात्मक सिरिजमा खेलेको ४ वटै खेल हारेको थियो।
अमेरिकाले पहिले ब्याटिंग गर्दै दिएको २५२ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनी १३.४ ओभरमा ७८/३ को अवस्थामा वर्षाले खेल रोकिएको थियो। खेल पुनः सुचारु हुँदा पपुवा न्यु गिनीले २३ ओभरमा १६५ रनको नयाँ लक्ष्य पाएको थियो। पपुवा न्यु गिनीले २३ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाउन सक्यो र ५ रनको थोरै अन्तरले पराजित हुन पुग्यो। एकदिवसीय अन्तर्राष्ट्रियमा अमेरिकाको यो नै पहिलो जित समेत हो।

अन्तिम ओभरमा जितको लागि १६ रन आवस्यक रहंदा अमेरिकाको लागि डेब्यु गरेका पुर्व दक्षिण अफ्रिकी क्रिकेटर रस्टि थेरोनले ओभरको पहिलो बलमा ५३ रन बनाएका चार्ल्स अमिनीको विकेट लिएका थिए। त्यसपछि ओभरको तेश्रो बलमा जेसन किलाले चौका प्रहार गर्दै जित्ने सम्भावना जीवित राखेका थिए। तर त्यसपछिको २ बलमा थेरोनले १ रन मात्रै दिएपछि अमेरिका ढुक्क बनेको थियो। अन्तिम बलमा अलेई नाओले चौका प्रहार गरेता पनि नतिजा अमेरिकाको पक्षमा गइसकेको थियो।
पपुवा न्यु गिनीको लागि चार्ल्स अमिनीले ५३ तथा कप्तान असाद भालाले ४८ रन बनाए। अमेरिकी बलर करिमा गोरेले सर्वाधिक ३ विकेट लिए।
फ्लोरिडाको रिजनल पार्क स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले टस जितेर ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २५१ रन बनाएको थियो। उसको लागि आरोन जोन्सले सर्वाधिक ७७ रन ( ११७ बलमा ३ चौका र २ छक्का ) तथा इल्मोरे हचकिन्सनले ४२ ( २१ बलमा ४ छक्का र १ चौका ) बनाए।
४६ औं ओभरमा २०२/९ को अवस्थाबाट नवौं नम्बरमा ब्याटिंग गरेका हचकिन्सनले आक्रामक इनिंग खेलेका थिए। त्यस क्रममा दशौँ विकेटको लागि हचकिन्सन र सौरभ नेत्रभालकर बीच ४९ रनको साझेदारी भएको थियो।
पपुवा न्यु गिनी बलर नोसैना पोकाना र जेसन किल्लाले समान ३/३ विकेट लिए।
त्रिकोणात्मक सिरिज अन्तर्गत आगामी खेल सेप्टेम्बर १७ मा अमेरिका र नामिबिया बीच खेलिनेछ। सेप्टेम्बर १९ मा पपुवा न्यु गिनीले अमेरिकासंग खेल्नेछ।
अंकतालिका
लिग-२ अन्तर्गत नेपालले पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले फेब्रेवरीमा घरेलु मैदानमा खेल्नेछ। नेपालसंग अमेरिका र ओमानले खेल्नेछन्।
विश्वकप लिग-२ मा एकदिवसीय मान्यताको आधारमा सिधै छनोट पाएका नेपाल, स्कटल्याण्ड र संयुक्त अरब इमिरेट्सको साथै सन् २०१९ को विश्व क्रिकेट लिग डिभिजन २ का शीर्ष ४ टोलि नामिबिया, ओमान, पपुवा न्यु गिनी र अमेरिका गरि ७ टिमले प्रतिस्पर्धा गर्दैछन्।
हरेक टिमले ३ वटा घरेलु त्रिकोणात्मक सिरिज आयोजना गर्नेछन् भने ५ वटा सिरिज अन्य टिमको घरेलु मैदानमा खेल्नेछन्। ७ राष्ट्रले बिश्वकप २०१९ देखि २०२१ सम्म कुल १२६ खेल खेल्नेछन् जसमा एउटा राष्ट्रले कुल ३६ खेल खेल्नेछ। सम्पूर्ण खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत पाउनेछ। प्रतियोगिताको समाप्तीमा अंक तालिकामा शीर्ष ३ टिम २०२२ मा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा सहभागी हुनेछन्।