बलियो मानिएको अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपालले विश्वकप लिग-२ मा तेश्रो जित दर्ता गर्न सफल रह्यो। ओमानको अल अमिरात मैदान नेपालले लक्ष्य पछ्याउने क्रममा शानदार ब्याटिंग गर्यो भने बलिंगमा पनि अनुशासन देखायो। पुरा टिम एकजुट भएर खेल्दा नेपालले त्रिकोणात्मक सिरिजको विजयी सुरुवात गर्न सफल रह्यो। जितमा महत्वपूर्ण योगदान दिने ७ खेलाडीको चर्चा गरेका छौँ –
बिक्रम सोब : गत साता मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका बिक्रम सोबले लगातार खेलमा सुरुवातमै विकेट लिंदै बिपक्षी ब्याट्सम्यानमा दबाब बनाउदै आएका छन्। पपुवा न्यु गिनी बिरुद्ध यस अघिको २ खेलमा जस्तै उनले अमेरिकासंग पनि खतरनाक अमेरिकी ओपनर स्टेभेन टेलरको विकेट लिए। १४ रन बनाइसकेका टेलरलाई क्याच आउट गर्दै उनले विकेटको खाता समेत खोलेका थिए। त्यसपछि सोबले शतक बनाएका मोनाक पटेलको विकेट लिए जो शतक पछि आक्रामक सट खेल्न चाहन्थे। ६ ओभर मात्र बलिंग पाएका सोबले ३३ रन खर्चेर २ विकेट लिए। यस क्रममा सोबले पहिलो पावरप्लेमा ४ ओभर बलिंग डेथ ओभरमा २ ओभर बलिंग गर्दै कप्तानले सुम्पेको जिम्मेवारी राम्रो निभाए।
Good morning..
Special Mention to THE TEAM MANAGEMENT for backing Bikram Sob with the New Ball.
Has consecutively dismissed the Best Batsman of our opponent in the last three games.
👏👏👏 pic.twitter.com/tedFhiRKme— Paras Khadka (@paras77) September 14, 2021
सन्दीप लामिछाने : अमेरिका बिरुद्ध नेपालमा गत वर्ष सम्पन्न विश्वकप लिग-२ अन्तर्गत खेलमा ६ विकेट लिएका सन्दिपसंग अमेरिकी ब्याट्सम्यानहरुले खुलेर ब्याटिंग गर्न सकेनन्। सुरुवातमै बलिंगमा ल्याइने अपेक्षा गरिएता पनि सन्दिपले दशौँ ओभरमा मात्र बलिंग पाए। पहिलो ओभरमा उनले १६ रन बनाएका ओपनर सुशान्त मोदानीलाई एलबिडब्लु गरे। त्यसपछि ४४ औं ओभरमा सन्दिपले एलमोर हचिन्सनलाई खाता नखोल्दै बोल्ड गर्दै दोश्रो विकेट लिए। लगातार अमेरिकी ब्याट्सम्यानलाई दबाबमा राखेका सन्दिपले १० ओभर बलिंग गर्दा २ ओभर मेडन राख्दै मात्र ३५ रन खर्चेर २ विकेट लिए।
सुशन भारि : अमेरिकालाई ठूलो योगफलतर्फ बढ्न नदिन देब्रे हाते स्पिनरले महत्वपूर्ण योगदान दिए। सुशनले अघिल्लो खेलमा एकै ओभरमा ६ छक्का तथा शतक प्रहार गरेका जस्करन मलहोत्रालाई ११ रनको स्कोरमा क्याच आउट गराउदै नेपाललाई महत्वपूर्ण सफलता दिलाए। मलहोत्रा र मोनाक पटेल बीच साझेदारी तोडेपछि उनले १३ रन बनाएका संजय कृष्णमुर्तिलाई पनि क्याच आउट गराउदै नेपाललाई खेलमा हावी गराए। १० ओभर बलिंग गरेका उनले कन्जुस्याइँपूर्ण बलिंग गर्दै मात्र ३१ रन खर्चिए।
कुशल भुर्तेल : यो वर्ष टि-२० अन्तर्राष्ट्रिय डेब्युमा सनसनी मचाएका कुशलले त्यही लयलाई एकदिवसीय अन्तर्राष्ट्रियमा पनि कायम राख्न सफल भए। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा उनले ९३ बलमा ३ चौका र ३ छक्का मद्दतले ८४ रन बनाए। उनले अर्का ओपनर आसिफ शेखसंग ६६ रनको साझेदारी गरे भने तेश्रो विकेटको लागि रोहित पौडेलसंग ५१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। इनिंग्सको क्रममा कुशलले एकातर्फ धैर्यता देखाएका थिए बेलाबेला मनमोहक चौका र छक्का प्रहार गर्दै मनोरञ्जन पनि दिएका थिए।
आसिफ शेख : २३ रन बनाएका ओपनर आसिफको स्कोर ठूलो नभएता पनि उनले चुनौतिपूर्ण लक्ष्य पछ्याउने क्रममा अत्यन्त आवस्यक ओपनिंग साझेदारी गरे। नेपालको एकदिवसीय अन्तर्राष्ट्रियको सर्वाधिक साझेदारी गर्ने क्रममा कुशलसंग ६६ रन जोडेपछिनै नेपालले जितको आत्मविश्वास पाएको थियो। अमेरिकी फास्ट बलरलाई सुरुवातमा विकेट नदिनुले नेपालको जितको आधार तयार गर्यो।
रोहित पौडेल : ओमान भ्रमणमा शानदार लयमा रहेका रोहित पौडेलले पुनः आफुलाई म्याच विनरको रुपमा सावित गरे। चौथों नम्बरमा ब्याटिंग गर्दै घाइते दिपेन्द्र ऐरी र पूर्वकप्तान पारस खड्काको अभाव महसुस हुन नदिएका उनले अमेरिकासंग शानदार ब्याटिंग गरे। कुशल भुर्तेलसंग ५१ रनको साझेदारी गरेका उनले भुर्तेलको विकेट पछि कुशल मल्ल आउट हुँदा बिनोद भण्डारीसंग पाँचौ विकेटको लागि ८३ रनको उत्कृस्ट साझेदारी गरे। अविजित रहेका रोहितले ८७ बलमा २ चौका र ३ छक्का मद्दतले ६२ रन बनाए र विजयी रन समेत प्रहार गरे। रोहित तिन वटा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान समेत बन पुगेका छन्। ईनिंग्सको क्रममा रोहितले धैर्यताको साथै पछि रन गति बढ्न नदिन आकर्षक सटहरु समेत प्रहार गरे।
बिनोद भण्डारी : कुशल भुर्तेल र कुशल मल्लको लगातार विकेट गुम्दा नेपालको पारम्परिक ब्याटिंग समस्या दोहोरिने डर सबैमा थियो। तर छैठौं नम्बरमा क्रिजमा आएका भण्डारीले त्यसो हुन दिएनन्। रोहित पौडेलसंग पाँचौ विकेटको लागि अहिलेसम्मकै सर्वाधिक ८३ रनको साझेदारीको क्रममा बिनोदले धैर्यता देखाए भने अन्तिममा आक्रामक सट खेल्दै दबाब कम गरे। ४८ बलमा बिनोदले २ चौका र १ छक्का मद्दतले ३७ रन बनाए। जितको लागि ३ रन आवस्यक हुँदा आउट भएता पनि नेपालको जित त्यसबेला सुनिस्चित भैसकेको थियो।