अमेरिकामा जारि माइनर लिग क्रिकेटको तेश्रो खेलमा पनि तिनजना नेपाली राष्ट्रिय क्रिकेटर सम्मिलित टिम हलिवुड मास्टर ब्लास्टर्सले हार बेहोरेको छ। दिनको पहिलो खेलमा गोल्डेन स्टेट गरिजलाईजसंग ५ विकेटले पराजित भएको ब्लास्टर्स आइतबार बिहान सम्पन्न दोश्रो खेलमा सिलीकन भ्याली स्ट्राइकर्ससंग १ रनको झिनो अन्तरले पराजित हुन पुग्यो।
क्यालीफोर्निया स्थित वुडले पार्क मैदानमा सम्पन्न खेलमा स्ट्राइकर्सले दिएको १२० रनको लक्ष्य पछ्याउने क्रममा ब्लास्टर्सले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा ११८ रन मात्र बनाउन सक्यो। अन्तिम २ ओभरमा जित्न १९ रन आवस्यक हुँदा अमेरिकी क्रिकेटर सौरभ नेत्रभालकरले १९ औं ओभरमा मात्र ३ रन खर्चिएका थिए। अन्तिम ओभरमा १६ रन आवस्यक हुँदा ब्लास्टर्सले १४ रन मात्र बनाउन सक्यो र १ रनको झिनो हार बेहोर्न बाध्य रह्यो।
खेलमा बसन्त रेग्मी र पृथु बास्कोटाको प्रदर्शन राम्रो रह्यो भने कनिस्क चौगाईंको बिर्सनलायक रह्यो।
३ नेपाली खेलाडीको प्रदर्शन कस्तो रह्यो
कनिस्क चौगाईं : पृथु बास्कोटासंग ओपनिंग गरेका कनिस्क पहिलो ओभरमै खाता नखोली आउट भए। ५ बल खेलेका उनलाई अमेरिकी क्रिकेटर सौरभ नेत्रभालकरले क्याच आउट गराए। कनिस्कले यस अघि पहिलो खेलमा ५ तथा दोश्रो खेलमा ३५ रन बनाएका थिए।
पृथु बास्कोटा : लिगमा व्यक्तिगत उच्च स्कोर दर्ता गर्ने क्रममा पृथु बास्कोटाले २८ बलमा ४ चौका प्रहार गर्दै ३३ रन बनाए। ओपनर कनिस्क चौगाईं खाता नखोली पेभेलियन फर्किएपछि पृथुले दोश्रो विकेटको लागि कोडी चेट्टीसंग ८० रनको साझेदारी गरे। उनि १४ औं ओभरमा देब्रे हाते स्पिनर श्रीनिवास रागभनलाई आक्रामक सट खेल्ने क्रममा क्याच आउट हुन पुगे। पृथुले यस अघि पहिलो खेलमा ९ रन तथा दोश्रो खेल खेलमा १६ रन बनाएका थिए।
बसन्त रेग्मी : दिनको पहिलो खेलमा महँगो सावित भएका बसन्त रेग्मीले दोश्रो खेलमा भने निकै राम्रो बलिंग गरे। ४ ओभर बलिंग गर्ने क्रममा उनले १ विकेट लिंदै २४ रन मात्र खर्चिए। पावरप्लेको चौथों र छैठौं ओभरमा बलिंग गरेका रेग्मीले किफायती बलिंग गर्दै समान दुई/दुई रन गरि मात्र ४ रन खर्चिएका थिए। त्यसपछि इनिंग्सको १५ औं ओभरमा तेश्रो ओभर गरेका उनले वेस्टइन्डिज अन्डर-१९ क्रिकेटर तथा करेबियन प्रिमियर लिग खेलीसकेका नईम योंगलाई क्याच आउट गराए। तेश्रो ओभरमा उनले मात्र ५ रन खर्चेर १ विकेट लिए। त्यसपछि इनिंग्सको १९ औं ओभरमा बलिंग गर्ने क्रममा भने रेग्मीले १७ रन खर्चिए। क्रिजमा जमीसकेका वेस्टइन्डिजका क्रिकेटर नरसिंह देउनारायणले रेग्मीलाई एउटा छक्का प्रहार गरे। बसन्तले पहिलो खेलमा १ विकेट लिने क्रममा ४ ओभरमा मात्र १२ रन मात्र खर्चेका थिए भने दोश्रो खेलमा विकेटविहिन रहेका थिए।
लिग अन्तर्गत हलीवुड मास्टर ब्लास्टर्सले चौथो खेल आज ( आइतबार ) राति ९:३० बजे खेल्ने तालिका रहेको छ। समुह चरणमा ब्लास्टर्सले अझै १२ वटा खेल खेल्न बाँकी रहेको छ।