USA Minor League : बसन्तको राम्रो बलिंग प्रदर्शनका बाबजुद ब्लास्टर्स पराजित

२०७८ श्रावण १८, सोमबार ०७:०२

अमेरिकाको माइनर लिग क्रिकेटमा तिन नेपाली राष्ट्रिय खेलाडीले एकै टिमबाट डेब्यु गरेका छन्। बसन्त रेग्मी, पृथु बास्कोटा र कनिस्क चौगाईंले हलिवुड मास्टर ब्लास्टर्स टिमबाट गय राति पहिलो खेल खेलेका हुन्।

खेलमा नेपाली खेलाडी सम्मिलित टिम मास्टर ब्लास्टर्स अमेरिकी राष्ट्रिय क्रिकेटरको बाहुल्यता रहेको टिम सान डियागो राइडर्ससंग ५ विकेटले पराजित हुन पुग्यो। अमेरिकाको क्यालिफोर्निया स्थित क्यान्योन पार्क मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको हलिवुड मास्टर ब्लास्टर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १०० रन बनाएको थियो। १०१ रनको लक्ष्य सान डियागो राइडर्सले १८.३ ओभरमा ५ विकेट क्षेतीमा भेटायो।


कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन 

खेलमा बसन्त रेग्मीले राम्रो बलिंग प्रदर्शन गरे भने पृथु बास्कोटा र कनिस्क चौगाईंले ब्याटिंगमा खास योगदान दिन सकेनन्।

कनिस्क चौगाईं : ओपनिंग ब्याटिंग गरेका कनिस्कले १० बल खेल्दा ५ रन मात्र बनाउन सके। उनलाई अमेरिकी क्रिकेटर समेत रहेका देब्रे हाते स्पिनर म्रुनाल पटेलले बोल्ड गरे।

पृथु बास्कोटा : पाँचौ नम्बरमा ब्याटिंग गरेका पृथुले १६ बल खेल्दा १ चौका प्रहार गर्दै ९ रन बनाए। उनले चौथो विकेटको लागि कोडी चेट्टीसंग १८ रनको महत्वपूर्ण साझेदारी गरे। सुस्त विकेटमा ठूलो सट प्रहार गर्न खोजिरहेका पृथु बारम्बार असफल भएका थिए। उनलाई अमेरिकी राष्ट्रिय क्रिकेटर समेत रहेका लेग स्पिनर तिमिल पटेलले स्टम्प आउट गरे। अघि बढेर प्रहार गर्न खोज्दा पटेलको लेग स्पिन पृथुले मिस गर्न पुगेका थिए।

बसन्त रेग्मी : देब्रे हाते स्पिनर बसन्त रेग्मीले खेलमै सबैभन्दा किफायती बलिंग गरे। सान डियागो राइडर्सलाई १९ औं ओभरसम्म संघर्ष गराउन रेग्मीको स्पेल महत्वपूर्ण रहेको थियो। बसन्तले ४ ओभर बलिंग गर्दा १ मेईडन ओभर सहित मात्र १२ रन खर्चेर १ विकेट लिए। उनले २० रन बनाएका श्री कृष्णलाई क्याच आउट गराएर विकेटको खाता खोलेका थिए। रेग्मीले पहिलो ओभरमा मात्र ४ रन, दोश्रो ओभरमा मात्र १ रन खर्चिए भने तेश्रो ओभर मेईडन गर्दै १ विकेट लिए। पहिलो ३ ओभरमा मात्र ५ रन खर्चेका रेग्मीले स्पेलको अन्तिम ओभरमा ७ रन खर्चिए। बसन्तको अधिकांश बल खेल्न ब्याट्सम्यानहरुले संघर्ष गरेका थिए।

लिग अन्तर्गत हलिवुड मास्टर ब्लास्टर्सले आगामी खेल अगस्ट ७ तारिखमा सिलिकन भ्याली स्ट्राइकर्स बिरुद्ध खेल्ने तालिका रहेको छ। सोहि दिन टिमले लगत्तै इस्ट बे ब्लेजर्ससंग अर्को खेल पनि खेल्नेछ। पहिलो खेल स्थानीय समय बिहान १० बजे र दोश्रो खेल स्थानीय दिउसो २ बजे सुरु हुनेछ।

के हो माइनर लिग टि-२०

अमेरिकी क्रिकेट बोर्डले आयोजना गरेको फ़्रेन्चाइज् टि-२० लिगमा देशभरको २७ शहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन्। प्रतियोगिता जुलाई ३१ तारिखमा सुरु भएको थियो भने अक्टोबर ३ तारिखसम्म चल्नेछ। सहभागी टिमहरुलाई वेस्टर्न, सेन्ट्रल ( प्यासिफिक ), इस्टर्न र साउदर्न ( एटलान्टिक ) गरि ४ वटा समुहमा बिभाजन गरेर खेल खेलाइएकेा छ। यो प्रतियोगिताको अमेरिका क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिम छनोट गर्ने आधार समेत हो लिगमा नेपाली राष्ट्रिय क्रिकेटरहरु सहित पूर्व न्युजिल्यान्ड क्रिकेटर कोरे एण्डरसन, वेस्टइन्डिज क्रिकेटर रखिम कर्नवाल, पूर्व पाकिस्तान क्रिकेटर सामी अस्लम, पूर्व श्रीलंकन क्रिकेटर शेहान जयसुरिया जस्ता खेलाडीहरु पनि सहभागी रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy