हलिवुड मास्टर्स ब्लास्टर्स टिमको प्रतिनिधित्व गर्दै अमेरिकामा जारि माइनर लिग क्रिकेट खेलीरहेका नेपाली खेलाडी बसन्त रेग्मी र पृथु बास्कोटाले आफ्नो चौथो खेलमा राम्रो प्रदर्शन गरेका छन्। कनिस्क चौगाईं भने चौथो खेलमा अन्तिम-११ मा समाबेश भएनन्।
सीएटल थन्डर्स बिरुद्धको खेलमा हलिवुड मास्टर्स ब्लास्टर्सले भने लिगमा लगातार चौथो हार बेहोर्यो। पहिले ब्याटिंग गर्दै मास्टर्स ब्लास्टर्सले दिएको १०१ रनको लक्ष्य थन्डर्सले ६ बल बाँकी रहंदा ६ विकेट गुमाएर पुरा गर्यो।
ब्लास्टर्सले पहिले ब्याटिंग गर्ने क्रममा ओपनिंग ब्याटिंग गरेका पृथु बास्कोटाले टिमको लागि दोश्रो सर्वाधिक योगदान दिने क्रममा ३० रन बनाए। उनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। बास्कोटाले पहिलो विकेटको लागि असद एमसंग ३४ रनको साझेदारी गरे जसपछि उनलाई लेग स्पिनर नितल भासादाले कट बिहाईन्ड गराए। अफस्टम्प भन्दा बाहिरको बललाई कट गर्ने क्रममा उनको ब्याटको बाहिरी किनारा लागेको थियो। अघिल्लो खेलमा पनि पृथुको विकेट लेग स्पिनरलेनै लिएका थिए।
अर्कोतर्फ देब्रे हाते स्पिनर बसन्त रेग्मीले किफायती बलिंग गर्दै १ विकेट लिए। रेग्मीले ४ ओभर बलिंग गर्दा मात्र १३ रन खर्चिए जुन खेलकै सबैभन्दा किफायती स्पेल रह्यो। आठौँ ओभरमा पहिलो ओभर बलिंग गरेका रेग्मीले उक्त ओभरमा मात्र २ रन खर्चिए जसपछि १३ औं ओभरमा दोश्रो ओभर बलिंग गर्दै ३ रन खर्चिए। १५ औं ओभरमा तेश्रो ओभरमा उनले ६ रन खर्चिए। १७ औं ओभरमा अन्तिम ओभर बालिग गर्ने क्रममा उनले ५ रन खर्चेर १ विकेट लिए। ओभरको दोश्रो बल मा उनले अबिर चिप्पालाई पृथु बास्कोटाबाट पोइन्टमा क्याच आउट गराए।
लिगमा पृथु बास्कोटाले ४ खेलमा ८८ रन बनाएका छन् जुन क्रममा उनले पहिलो खेलमा ९ रन, दोश्रो खेलमा १६ रन तथा तेश्रो खेलमा ३३ रन बनाएका थिए। अर्कोतर्फ बसन्त रेग्मीले ४ खेलमा ३ विकेट लिएका छन् जुन क्रममा एक खेल बाहेक अन्य ३ खेलमा किफायती बलिंग गरेका छन्।
लिग अन्तर्गत हलीवुड मास्टर्स ब्लास्टर्सले आगामी खेल आज राती १२:१५ बजे सीएटल थन्डरबोल्ट बिरुद्ध खेल्नेछ। ब्लास्टर्ले लिगमा अझै ११ खेल खेल्न बाँकी रहेको छ।
अमेरिका क्रिकेट बोर्डले आयोजना गरेको लिगमा अमेरिकाका २७ शहरको प्रतिनिधित्व गर्ने फ़्रेन्चाइज्हरु रहेका छन्। ३२ जुलाईमा सुरु भएको लिग अक्टोबर ३ तारिखसम्म संचालन हुनेछ। यसै प्रतियोगिताको प्रदर्शनको आधारमा अमेरिकाले राष्ट्रिय टिमको छनोट समेत गर्नेछ। लिगमा पूर्व न्युजिल्यान्ड क्रिकेटर कोरे एण्डरसन वेस्टइन्डिज क्रिकेटर रखिम कर्न वाल , पूर्व पाकिस्तान क्रिकेटर सामी असलम पूर्व श्रीलंकन क्रिकेटर शेहान जयसुरिया जस्ता खेलाडीहरु सहभागी रहेका छन्।