अमेरिकामा क्रिकेट गतिविधिमा संलग्न हुने तथा नेपाली युवा क्रिकेटहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अमेरिकामा बसोबास गरिरहेका राष्ट्रिय क्रिकेटरहरु सहितको समुहले ‘नेपाली राइनोज अल-स्टार्स’ क्लबको स्थापना गरेका छन्।
क्लबमा पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं कप्तान रहेका छन् भने टिम व्यवस्थापकमा अर्का पूर्व राष्ट्रिय क्रिकेटर बरदान चालिसे, आशिक लामा र सन्जय शर्मा रहेका छन्। अर्का पूर्व राष्ट्रिय क्रिकेटर बन्टु बटाजु र अनुनय बस्न्यात व्यवस्थापन निर्देशकको भूमिकामा रहनेछन्।
यस अघि अमेरिकामा सक्रिय रहँदै आएको नेपाली राइनोज क्रिकेट क्लबमा व्यवस्थापकीय जटिलता देखिएपछि नयाँ क्लबको स्थापना गर्नुपरेको क्लबका सदस्य आशिक लामाले जानकारी गराए। नेपाली राइनोजको संस्थापक रहेका उत्सव सिग्देल, रभी थापालाई पनि अल स्टार्समा जोड्ने प्रयास भइरहेको उनले बताए।

“हाल अमेरिकामा बसोवास गर्नु हुने तथा पहिले नेपाली क्रिकेटसंग आवद्ध रहनु भएका खेलाडी तथा व्यक्तित्वहरुलाई क्लबसंग जोड्ने प्रयास गरिरहेका छौँ। हाम्रो टिममा नेपालको राष्ट्रिय क्रिकेटरहरुको संलग्नता रहेकोले नाम अल स्टार्स रोजेका छौँ। संस्थापक सदस्यहरुलाई समान जिम्मेवारी दिएर तथा आर्थिक पारदर्शीता राख्दै क्लब सुरु गरेका छौँ। हामीले बिगतमा पनि अमेरिकाको बिभिन्न क्रिकेट प्रतियोगितामा सहभागी हुँदै आएका छौँ र नेपाली क्रिकेटलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छौँ जसलाई निरन्तरता दिनेछौँ।” लामाले बताए।
लामा संस्थापक सदस्य रहेको नेपाली राइनोज क्लबले सन् २०१६ मा अमेरिकाको टु-एक्स क्रिकेट प्रतियोगिता जित्न सफल भएको थियो। तत्कालिन राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहित वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, सोमपाल कामि, पृथु बास्कोटा र सिद्धान्त लोहनी त्यसबेला क्लबको प्रतिनिधित्व गरेका थिए। त्यस बाहेक क्लबले अमेरिकाको डलास प्रिमियर लिग, युएस ओपन जस्ता प्रतियोगितामा सहभागिता जनाएको थियो भने नेपाली क्रिकेटको सहयोगार्थ आर्थिक सहयोग समेत गरेको थियो। सोहि कार्यहरुलाई अल स्टार्सले पनि निरन्तरता दिने प्रतिवद्धता लामाले व्यक्त गरे।
क्लबको स्थापनासंगै राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले सुरु गरेको कोभिड-१९ नियन्त्रणको लागि आर्थिक अभियानको लागि नेपाली राइनोज अल-स्टार्स’ क्लबले १ हजार डलर आर्थिक सहयोग गर्ने लामाले बताए। सन्दिपले व्यक्तिगत ३ लाख सहयोग गर्दै अभियान सुरु गरेका हुन्।
सम्बन्धित
https://wicketnepal.com/kanishka-chaugai-usa-camp-wn21/
https://wicketnepal.com/nepali-rhinos-upadhi-40-hajar-dollar/
https://wicketnepal.com/ban-beat-sl-2nd-odi-5-25/
https://wicketnepal.com/mehboob-alamle-wisha-chakit-banayeko-din/
https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/
