कप्तान मल्लले बताए अमेरिकासंग हारको प्रमुख कारण

ओमानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोश्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासंग ६ विकेटले पराजित हुन पुग्यो। खेलमा नेपालले दिएको १७५ रनको सामान्य लक्ष्य अमेरिका २०.३ ओभर बाँकी रहँदै भेटायो। खेलपछि मिडियासंगको कुराकानीमा कप्तान ज्ञानेन्द्र मल्लले ब्याटिंगको कारण टिमले हार बेहोरेको प्रतिक्रिया दिएका छन्।

“ब्याटिंगका कारण हामि हार्यौं। यो स्तरमा २३०/२४० रन बनाउनु पर्छ। त्यही पनि हामीले मेहनत गरेकै हौँ। ब्याटिंग अझ राम्रो गर्नु पर्ने थियो।” मल्लले बताए।

मल्लले लगातार विकेटले ब्याट्सम्यानहरु आतिएको बताए – “पछि केटाहरु आतिए जस्तो लाग्यो। आज सजिलो पनि थिएन ब्याटिंग गर्न। विकेट गए पछि सुरुवातमा दबाबमा थियौं। तर पनि पछि बीचमा साझेदारी बनाउन हामि चुकीरहेका छौँ। एउटा राम्रो साझेदारी गर्न सकेको भए योगफल अझ बढाउन सकिन्थ्यो होला। पछि आउने करनहरु जस्तो ब्याट्सम्यानहरुले खेल अनुसार हिटिंग गर्न सकेको भए हुन्थ्यो।”

नेपालले महत्वपूर्ण समयमा दुई वटा क्याच तथा फिल्डिंगमा गरेको गल्ति बारे बोल्दै मल्लले क्रिकेटमा ‘यदी र तर’ हुने बतए। उनले क्याचले भन्दा ब्याटिंग खराब गर्दा खेल हारेको बताए। खेलमा ३२ बलमा अर्धशतक तथा ९२ रन बनाएका स्टेभेन टेलरको क्याच कुशल भुर्तेलले छाडेका थिए। टेलर ४२ रन बनाएर खेल्दा कुशलले लंगअफमा सुशन भारिको बलमा सहज क्याच छाडेका थिए। टेलर आउट भएपछि पुनः नेपाललाई दबाब बनाउने मौका थियो पुनः जस्करन मलहोत्राको क्याच गुल्सन झाले छुटाउन पुगेका थिए जसले गर्दा अमेरिकामा नेपालले दबाब बनाउन सकेको थिए।

“खेलमा र क्रिकेटमा यदी र तर भन्ने हुन्छ। त्यो लिएको भए भन्ने कुरा हुन्छ, सायद अझै दबाब बनाउन सक्थ्यौं। यस्तो लो स्कोरिंग खेलमा मौका गुमाउदा सम्भावना कम हुन्छ। फिल्डिंग हामीले गल्ति गरेका हौँ तर मुख्यतः ब्याटिंगमा हामीले जित्ने योगफल खडा गरेको हैन। हामि राम्रो स्कोर बनाउन चुकेका हौँ।”

नेपालले सिरिजको अन्तिम खेलमा घरेलु टोलि ओमानसंग प्रतिस्पर्धा गर्दैछ। ओमानसंगको खेल प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा नेपालको लागि अन्तिम खेल हुनेछ। मल्लले ओमानलाई पराजित गर्दै व्हाटमोरको विदाई गर्ने चाहना व्यक्त गरे –

“ओमानलाई जित्नु बाहेक बिकल्प छैन। ओमान आएकानै त्यसैले हौँ। ओमानलाई जित निकालेको खण्डमा अँकतालिकामा सजिलो हुन्छ। अन्तिम खेलमा जित्ने र प्रशिक्षकको अन्तिम खेल हुनाले राम्रो विदाई दिने विचार छ।” सिरिज सुरु हुनु अघि व्हाटमोरले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy