ICCWCL2 : नेपालको तेश्रो खेल अमेरिकासंग, यस्ता छन् नेपालको बलियो र कमजोर पक्ष

ओमानमा जारि आईसीसी विश्व कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले अमेरिकासंग प्रतिस्पर्धा गर्दैछ। अल अमिरात मैदानमा सिरिजमा दोश्रो पटक नेपाल र अमेरिका प्रतिस्पर्धा गर्नेछन्। डे-नाइट खेल नेपाली समय ४:१५ बजे सुरु हुनेछ। दुई देश बीच सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। लिग-२ मा नेपालले खेलेको तिन वटै खेलमा अमेरिकालाई पराजित गर्न सफल रहेको छ जसलाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली टिम मैदान उत्रनेछ।

ओमानसंगको हारले गुमेको आत्मविश्वास फिर्ता होला : सिरिजको शानदार सुरुवात गर्ने क्रममा अमेरिकालाई ५ विकेटले पराजित गरेता पनि लगत्तै अर्को दिन ओमानसंग ५ विकेटले पराजित भएसंगै नेपालको आत्मविश्वास थोरै कमजोर भएको छ। पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याउदै जित दर्ता गर्ने क्रममा नेपालको ब्याटिंग र बलिंग दुवै पक्ष सन्तुलित देखिएको थियो। बलिंगमा बिक्रम सोब, सन्दिप लामिछाने र सुशन भारि तथा ब्याटिंगमा कुशल भुर्तेल, रोहित पौडेल र बिनोद भण्डारीको प्रदर्शन जितमा महत्वपूर्ण रहेको थियो।

तर, दोश्रो खेलमा त्यसको बिपरित नेपालको बलिंग र ब्याटिंग फितलो देखियो। नेपालले पहिले ब्याटिंग गर्दै १९६ रन मात्र बनाउन सक्यो र १९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमै भेटायो। राम्रो सुरुवातको बाबजुद नेपालको मध्यक्रम ब्याट्सम्यानहरुले एक साथ विकेट गुमाउन पुगेका थिए भने ओमानका जतिन्दर सिंहले विस्फोटक शतक बनाउदा नेपाली फास्ट बलरको सातो लिएका थिए। सन्दिप लामिछाने पेटको समस्याले बलिंग गर्न नसक्ने भएपछि नेपालको बलिंग आक्रमण कमजोर देखिएको थियो।  उक्त हारले गुमेको नेपालको आत्मविश्वास अमेरिकासंगको खेलमा फिर्ता हुने अपेक्षा गरिएको छ।

नेपालको बलियो र कमजोर पक्ष 

बलियो पक्ष 

दुई ओपनर र रोहितको लय – नेपालको ओमान भ्रमणमा सबैभन्दा सकारात्मक पक्ष ओपनिंग ब्याट्सम्यानको प्रदर्शन हो। कुशल भुर्तेल र आसिफ शेखले टि-२० फर्म्याटमा पाएको लयलाई धेरै हदसम्म निरन्तरता दिएका छन्। कुशलले अमेरिकासंग ८४ रन बनाएका थिए भने आसिफले ओमानसंग ९० रन बनाए। दुवै प्रदर्शन नेपाली ओपनरको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृस्ट प्रदर्शन हो। अर्को तर्फ दिपेन्द्र ऐरी घाइते हुँदा चौथों नम्बरमा ब्याटिंग पाएका रोहित पौडेल आफ्नो भूमिकामा खरो उभिएका छन्। रोहितले अमेरिकासंग जितमा अहम योगदान दिने क्रममा अविजित ६२ रन बनाएका थिए। कुशल, आसिफ र रोहितको लय नेपालको लागि सकारात्मक पक्ष हो।

स्पिन आक्रमण – नेपालको अर्को सकरात्मक पक्ष स्पिनरहरुको प्रदर्शन हो। सन्दिप लामिछाने, सुशन भारि र कुशल मल्लले तिन वटै खेलमा किफायती बलिंग गरेका छन्। दोश्रो खेलमा फास्ट बलरहरु निकै इतिहासकै महँगो सावित हुँदा सन्दिप अनुपस्थित भएता पनि सुशन र कुशलले नेपाललाई खेलमा पुनरागमन गराएका थिए। सन्दिपले अमेरिकासंग १० ओभरमा ३५ रन मात्र खर्चेर २ विकेट लिएका थिए। सुशनले अमेरिकासंग १० ओभरमा मार ३१ रन खर्चेर २ विकेट र ओमानसंग ४० रन खर्चेर १ विकेट लिएका थिए। कुशलले अमेरिकासंग १० ओभरमा ४५ रन खर्चेर १ विकेट तथा ओमानसंग ३८ रन खर्चेर २ विकेट लिएका थिए।। तिन स्पिनरले २ खेलमा मात्र ३.७८ रन प्रतिओभर खर्चेर ८ विकेट लिएका छन्।

कमजोर पक्ष 

फ्लप मल्ल जोडी, सुरुवात पछि विकेट फाल्ने बानि – ओपनर कुशल र रोहित पछि नेपालको मध्येक्रमका ब्याट्सम्यानहरुको प्रदर्शन नेपालको चिन्ता बनेको छ। कप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरेपछि विकेट फाल्ने गरेका छन् भने कुशल मल्ल लगातार फ्लप सावित हुँदै आएका छन्। ज्ञानेन्द्रले पपुवा न्यु गिनीसंग ६ रन र ४५ रन तथा ओमानसंग १७ र २१ रन बनाएपछि विकेट दिएका थिए। टिमको सबैभन्दा अनुभवी ब्याट्सम्यानको नाताले ज्ञानेन्द्रले ठूलो पारि खेलेर जिम्मेवारी देखाउनै पर्नेछ। कुशल मल्लले ओमान भ्रमणमा ४ खेलमा मात्र ७ रन बनाएका छन् जुन क्रममा सर्वाधिक स्कोर ४ रन हो भने बाँकी तिन खेलमा समान १ रन बनाएर आउट भएका थिए। बिनोद भण्डारीले अमेरिकासंग महत्वपूर्ण योगदान दिएता पनि ओमान र पपुवा न्यु गिनीसंग पाएको सुरुवातलाई ठूलो स्कोरमा बदल्न सकेका छैनन्। उनले तिन खेलमा ३,३७ र ६ रन बनाएका छन्। यही समस्याका कारण ओमान बिरुद्ध राम्रो सुरुवातका बाबजुद नेपाल १००/२ को अवस्थाबाट १४६/६ को अवस्थामा पुगेको थियो। आगामी खेलमा सफलता प्राप्त गर्न माथिल्लो क्रमले दिएको सुरुवातलाई मध्यक्रमका तिन प्रमुख ब्याट्सम्यानहरुले अघि बढाउनु जरुरि छ।

फास्ट बलरको प्रदर्शन – ओमान बिरुद्ध नेपाली फास्ट बलरहरु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै आठौं सबैभन्दा महँगो सावित भएका थिए। सोमपाल, करन र बिक्रमले खेलमा गरेको ६७ बलमा ओमान ब्याट्सम्यानले १०.६५ प्रतिओभरको रेटले ११९ रन खर्चेका थिए। यस्तै दुई खेलमा तिन जना नेपाली फास्ट बलरले मात्र ४ विकेट लिन सकेका छन् जसमध्ये करन र बिक्रमले २/२ विकेट लिएका छन्। सोमपाल दुवै खेलमा विकेटविहिन रहन पुगेका थिए। नेपालका सबैभन्दा अनुभवी बलर विकेट लिन असफल हुनु पक्कै शुभ सङ्केत हैन जुन नेपालको चिन्ताको विषय बनेको छ। करनले २ विकेट लिएता पनि उनले कुल १० ओभर बलिंग गर्ने क्रममा ९३ रन खर्चेका छन् जुन करनको स्तरको बलरबाट अपेक्षित छैन। सन्दिप, सुशन र कुशलले स्पिन पक्ष राम्रोसंग सम्हालेको अवस्थामा फास्ट बलरहरुले पनि सोहि अनुरुप प्रदर्शन नगर्ने हो भने नेपाल सहि दिशामा जाने छैन।

कुशलको स्थानमा शरद ? 

अनुभवी ब्याट्सम्यान शरद भेसावकरले एकदिवसीय अन्तर्राष्ट्रियमा धैर्यतापूर्ण पारि खेल्न छन् जसको आवस्यकता नेपाली टिममा देखिएको छ। उनले खेलेको अन्तिममा ५ एकदिवसीयमा १९५ रन बनाएका छन्। त्यस क्रममा ओमानसंग ५५ रन, हंगकंगसंग ८९ तथा भारतीय यु-२३ टिम बिरुद्ध उनले ४४ रन बनाएका थिए। घाइते हुँदा शरदले गत वर्ष घरेलु मैदानमा विश्वकप लिग-२ को तिन वटा खेल गुमाएका थिए। ओमान टुरमा पपुवा न्यु गिनीसंग ६ रनमा आउट भए पछि उनलाई ओमान र अमेरिकासंग बेन्चमा राखियो। टि-२० टिममा अस्तित्व समाप्त भएता पनि एकदिवसीयमा उनको फाइदा नेपालले उठाउनु पर्छ। उनको २ दशकको अनुभव नेपालले बेन्चमा खेर फाल्नु हुँदैन।

माथिल्लो क्रमको ब्याट्सम्यानहरु आउट हुँदा शरदले एक किनार सम्हालेर लामो समय ब्याटिंग गर्न सक्छन्। तर टिममा देब्रे हाते ब्याट्सम्यान कुशल मल्लले मौका पाउँदा शरदले अन्तिम-११ मा ठाउँ पाउन सकेका छैनन्। कुशल, आसिफ, ज्ञानेन्द्र र रोहितले ब्याटिंग क्रममा स्थान पक्का गर्दा शरदले पाँचौ नम्बरमा ब्याटिंग पाए नेपालको मध्येक्रम समस्या समाधान हुन सक्छ। कुशल फ्लप भएता पनि उनको बलिंगले गर्दा टिममा स्थान बनाउन सघाएको छ।  कुशलको रुपमा नेपालले छैठौं बलर पाइरहेको छ जसले बलिंगमा राम्रो प्रदर्शन गरिरहेका छन्। तर ब्याटिंग फर्म हेर्ने हो भने कुशलको ठाउँ अमेरिका बिरुद्ध शरदले लिन सक्ने सम्भावना छ। शरद अफ स्पिन बलिंग पनि राम्रो गर्न सक्ने हुँदा जिम्मेवार ब्याट्सम्यान तथा छैठौं बलरको भूमिका पाउन सक्छन्।

कुशल मल्लको बिकल्प : शरद बाहेक कुशलको स्थानमा अफस्पिन अलराउण्डर पवन सर्राफ या मिडियम पेसर आरिफ शेख पनि खेल्न सक्छन्। तर पवन र आरिफ शरद पछिको रोजाई हुन सक्छन्। अथवा नेपाली टिमसंग अर्को बिकल्प बिनोद भण्डारी र कुशल मल्ललाई बाहिर राखेर शरद र आरिफ या पवन मध्ये एकलाई ठाउँ दिने पनि हुनेछ। विकेटकिपरको रुपमा आसिफ शेखलाई नेपालले प्रयोग गर्ने बिकल्प रहेको छ। तर यो बिकल्पमा नेपाली टिम जाने सम्भावना कम रहेको छ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]