पाकिस्तानसंग हारपछि पनि सेहवागको विश्वास “भारतले टि-२० विश्वकप जित्नेछ”

२०७८ कार्तिक १०, बुधबार २२:२०

युएईमा जारी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमै पाकिस्तानसंग १० विकेटको विशाल अन्तरले पराजित भएको भारतलाई प्रतियोगिता सुरु हुनु अघि विश्वकप जित्ने प्रमुख दावेदार मानिएको थियो। प्रतियोगिता अघि अभ्यास खेलमा इंग्ल्यान्ड र अस्ट्रेलियालाई पराजित गरेको भारतले विश्वकपको सुरुवातमा भने सोचेको नतिजा ल्याउन सकेन। इतिहासमै पहिलो पटक विश्वकपमा पाकिस्तानले भारतलाई पराजित गर्यो। भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाई पुरा गर्यो। पाकिस्तानले आफ्नो दोश्रो खेलमा पनि जित दर्ता गर्ने क्रममा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्यो र सेमीफाइनल पुग्ने सम्भावना बलियो बनायो।

यसै बीच भारतीय पूर्व कप्तान बिरेन्द्र सेहवागले भारतलेनै टि-ट्वान्टी विश्वकप जित्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार बिराट कोहली कप्तानीको टिमले अझ राम्रो खेल्दै ट्रफी उचाल्ने छन्।

“मेरो विचारमा भारतीय टिमले टि-२० विश्वकप जित्नेछ। हामि जितेको बेला टिमको समर्थन गर्छौं तर हारेको बेला बढी साथको आवस्यकता हुन्छ। त्यसैले म विश्वास गर्छु कि भारतले टि-२० विश्वकप जित्छ।” उनले बताए।

पाकिस्तान क्रिकेट टिमबारे बोल्दै सेहवागले बताए – “न्युजिल्यान्डसंगको जित पछि पाकिस्तानको सेमीफाइनल पुग्ने सम्भावना लगभग पक्का भएको छ किनकि उनीहरुको बाकि खेल अफगानिस्तान, स्कटल्याण्ड र नामिबियासंग छ। उनीहरुले अब मात्र दुई खेलमा जित दर्ता गरे पनि सेमीफाइनल पुग्नेछ”

भारतलाई पाकिस्तानले पराजित गरेपछि सेहवागले ट्वीटमार्फत पाकिस्तानलाई बधाई दिएका थिए। – “बधाई छ पाकिस्तान। यो तरिकाले खेल जित्दै जितको खाता खोल्न सफल भएकोमा।” साथै उनले भारतले बलियो पुनरागमन गर्ने पनि बताएका थिए – “मलाई विश्वास छ कि भारतले यो भन्दा बलियो पुनरागमन गर्नेछ।”

प्रतियोगिता अन्तर्गत भारतले आगामी खेल अक्टोबर ३१ तारिख शनिवार न्युजिल्यान्डसंग खेल्ने तालिका रहेको छ। भारत र न्युजिल्यान्ड बीचको खेलमा पराजित हुने टिमको सेमीफाइनल यात्रा कठिन हुन सक्नेछ। न्युजिल्यान्डसंगको खेल पछि भारतले कमजोर प्रतिद्वन्द्वी स्कटल्याण्ड, अफगानिस्तान र नामिबियासंग खेल्ने हुनाले न्युजिल्यान्डले भारतलाई पराजित नगरेको खण्डमा भारतको यात्रा सहज हुन सक्छ। यदी न्युजिल्यान्डले भारतलाई पराजित गरेको खण्डमा न्युजिल्यान्डले पनि बाँकी खेलमा कमजोर प्रतिद्वन्द्वीको सामना गर्ने हुँदा भारतको सेमीफाइनल यात्रा कठिन बन्न सक्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy