काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।
पहिलो दिन भएको पुरुषतर्फको खेलमा सीएसी भक्तपुर विजयी हुँदा महिला तर्फको खेल भने वर्षाका कारण रद्ध भएको छ ।
सीएसी भक्तपुरले पहिलो जित दर्ता गर्ने क्रममा ओएसीस क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको ओएसीसले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
ओएसीसका लागि आषिह भट्टराईले ६० बलमा ५० तथा निश्चल श्रेष्ठले १३ बलमा १२ रन बनाए ।
सीएसीका लागि प्लेयर अफ द म्याच भएका अभिनाश बस्यालले ३ तथा भुपेन्द्र चन्द र स्वरुप श्रेष्ठले समान २/२ विकेट लिए ।
९८ रनको लक्ष्य सीएसी भक्तपुरले १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
सीएसीका लागि रोशन साउदले ३० बलमा अविजित २७ तथा विपिन आचार्यले १४ बलमा २६ रन बनाए
ओएसीसका लागि समर्पण अधिकारी र शंकर रानाले समान १/१ विकेट लिए ।
आजै भएको महिला तर्फको काठमाडौं जिल्ला तथा भक्तपुर जिल्लाबीचको खेल भने वर्षाका कारण पूरा हुन सकेन ।
वर्षाका कारण दोस्रो ईनिङको खेल हुन सकेको थिएन ।
पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर १ सय रन बनाएको थियो ।
काठमाडौंका लागि अस्मिता खरेल ले २६ बलमा १७ तथा कन्चन श्रेष्ठले २२ बलमा १३ रन बनाईन् ।
भक्तपुरका लागि अनुसा रोक्काले ४ तथा स्वेक्षा खड्का र पूजा साउदले समान १/१ विकेट लिईन् ।
प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।
पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।
पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।
यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।
प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।