अमृत कप्तानीको भिएक्सएल स्टार्स तास्मानियन नेप्लिज प्रिमियर लिगमा डेब्यु गर्दै

२०८१ आश्विन ११, शुक्रबार १८:१७

अस्ट्रेलियाको होबार्ट, तस्मानियामा गत साता २१ सेप्टेम्बर देखि सुरु भएको तास्मानियन नेप्लिज प्रिमियर लिग (टीएनपीएल) को पहिलो सिजनमा भिएक्सएल एजुकेशन ( VXL Education ) तास्मानियाको स्वामित्वमा रहेको भिएक्सएल स्टार्सले शनिवार डेब्यु गर्दैछ।

टि-२० फर्म्याटमा हुने यो प्रतियोगितामा भिएक्सएल स्टार्सका खेलाडीहरूमध्ये अमृत भट्टराई मुख्य आकर्षण रहेका छन्। ३४ वर्षीय देब्रे हाते फास्ट बलर भट्टराई नेपाल क्रिकेट टोलीका पूर्व खेलाडी हुन् र सन् २०१४ मा बंगलादेशमा भएको टि-२० विश्वकपमा नेपाली टिममा समावेश थिए। भट्टराईले टिमको कप्तानी समेत गर्नेछन्।

भिएक्सएल स्टार्सले पहिलो खेल २८ सेप्टेम्बर बिहान ११ बजे ग्रेस डायनामोज विरुद्ध खेल्नेछ। स्टार्सले आफ्नो दोस्रो खेल २९ सेप्टेम्बर, आईतबार बिहान ९:०० बजे इन्ट्याक्ट टाइटन्स विरुद्ध खेल्दैछ। यस्तै आइतबारनै टिमले दोश्रो खेल अक्टोबर ६ तारिख दिउँसो ३ बजे ग्रेस डायनामोज विरुद्ध खेल्नेछ। प्रतियोगिताको फाइनल खेल अक्टोबर २० तारिखमा हुनेछ। प्रतियोगिता बागदाद कम्युनिटी ओभल, होबार्ट, तास्मानिया मा सञ्चालन भइरहेको छ।

 

भिएक्सएल एजुकेशन तास्मानियाको स्वामित्वमा रहेको भिएक्सएल स्टार्स टिमलाई न्यू कन्सेप्ट फाइनान्सले सह-प्रायोजन गरेको छ। टिममा १६ खेलाडीहरूलाई अक्सनबाट चयन गरिएको छ। स्टार्सले १६ खेलाडीहरूको टिम बनाउँदै कूल $५,००० अष्ट्रेलियन डलरको बजेटमा खेलाडीहरूलाई खरिद गरेको हो। खेलाडीहरूको सूची यस प्रकार छ:

अमृत भट्टराई, बिनोद खत्री, अंकित रावल, नवराज कार्की, सुदिप पाण्डे, रोशन पोखरेल, लक्ष्मण पन्थी, मिलन महर्जन, सुबास विश्वकर्मा, बिनय श्रेष्ठ, विष्णु सापकोटा, मोईन कुमार श्रेष्ठ, सुरज थापा, पियुष जोशी, अनिश सागर शाह, विश्वास बर्देवा

टीएनपीएलमा अन्य दुई टोलीहरू ग्रेस डायनामोज र इन्ट्याक्ट टाइटन्स रहेका छन्।

प्रतियोगितामा उपाधि जित्ने टोलीले $३,५०० अष्ट्रेलियन डलरको नगद पुरस्कार प्राप्त गर्नेछ। व्यक्तिगत पुरस्कारहरूमा गोल्डेन ब्याट र गोल्डेन बल, प्रत्येकको लागि $४०० अष्ट्रेलियन डलर, म्यान अफ द टुर्नामेन्टको लागि $६०० अष्ट्रेलियन डलर, र प्रत्येक खेलको प्लेयर अफ द म्याचले $२०० अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy