इंग्ल्यान्ड क्रिकेट बोर्डको महत्वकांक्षी लिग ‘द हन्ड्रेड’ सुरु हुनु अघि प्रतियोगितालाई ठूलो झट्का लागेको छ। प्रतियोगिताबाट अस्ट्रेलियाका दुई ठूला क्रिकेटर डेभिड वार्नर र मार्कस स्टोइनिसले आफ्नो नाम फिर्ता लिएका छन्।
‘द हन्ड्रेड’ लिग जुलाई २१ देखि २१ अगस्ट सम्म संचालन हुनेछ जसमा ८ वटा टिम सहभागी हुँदैछन्। गत वर्ष आयोजना हुने घोषणा गरिएको भएता पनि कोरोनाका कारण लिग स्थगित गरिएको थियो।
इंग्ल्यान्डमा कोभीड-१९ को कारणले बनाइएको कडा नियमको कारण दुई अस्ट्रेलियन खेलाडीले नाम फिर्ता लिने निर्णय गरेका हुन्।
“डेभिड र मार्कस जस्तो क्षमतावान खेलाडी गुमाउनु निराशाजनक छ। तर कोभिडको लागि अपनाइने साबधानी केहि विदेशी खेलाडीको लागि मुस्किल हुने गर्छ।” इंग्ल्यान्ड क्रिकेट बोर्डले क्रिक्इन्फोसंग कुराकानीमा बताएका छन्।
अस्ट्रेलियाले जुलाई ९ देखि २४ तारिखसम्म वेस्टइन्डिजसंग सिमित ओभर सिरिज खेल्नेछ। उक्त सिरिज पछि दुई खेलाडीले आफ्नो परिवारसंग केहि समय बिताउन चाहेका हुन्।
वार्नर र स्टोइनिस लिगमा साउथर्न ब्रेभ टिममा थिए। वार्नरलाई १ लाख पाउण्ड ( रु. १ करोड ६५ लाख ) र स्टोइनिसलाई ८० हजार पाउण्ड ( रु. १ करोड ३२ लाख ) मा टिममा अनुबन्ध गरेको थियो। टिममा आबद्ध अर्का विदेशी खेलाडी आन्द्रे रसेलले पनि वेस्टइन्डिजको लागि खेल्नु पर्ने कारण लिगको सुरुवाती खेलहरु गुमाउनेछन्।
लिगमा ग्लेन म्याक्सवेल, झाई रिचर्डसन, एडम जाम्पा, आरोन फिंच, क्रिस लिन, ड्यार्सी सर्ट र नाथन कुल्टर नाइल गरि अन्य ७ अस्ट्रेलियन खेलाडीहरु पनि आबद्ध रहेका छन्।
सन्दिप लामिछानेले सुरुवाती खेल गुमाउन सक्ने

नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि ‘द हन्ड्रेड’ लिगमा सहभागी हुनेछन्। सन्दिप ओभल इन्भिन्सिबल टिमबाट खेल्नेछन्।
द हन्ड्रेड लिग चल्दै गर्दा नेपालले विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंग जुलाईको २० तारिख देखि सुरु हुने त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना रहेको छ। स्कटल्याण्डले आयोजना गर्ने जिम्मेवारी पाएता पनि कोरोनाका कारण असमर्थता देखाउदा खेलहरु स्पेनमा आयोजना हुने बताईएको छ। हालसम्म आईसीसीले प्रतियोगिता स्थल र मिति बारे अधिकारिक घोषणा भने गरेको छैन। यदी नेपालले जुलाई २० देखि त्रिकोणात्मक सिरिज खेलको खण्डमा सन्दिपले ‘द हन्ड्रेड’ लिगको आधा खेलहरु गुमाउन सक्ने छन्।
भिसा समस्याका कारण सन्दिप भाइटालिटि टि-ट्वान्टी ब्लास्टमा सहभागी हुन पाएका थिएनन्। यदी द हन्ड्रेड लिग चल्दै गर्दा नेपालको खेल जुध्ने हो भने सन्दिप नेपालको लागि खेल्ने पक्का छ जसले गर्दा द हन्ड्रेड लिगको खेलहरु गुमाउने सम्भावना प्रवल रहेको छ।
जुलाई २० देखि २७ तारिखसम्म विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज संचालन भएको खण्डमा सन्दिप त्यहाँबाट इंग्ल्यान्ड पुगेपछि क्वारेन्टाइन बस्नुपर्ने हुँदा लिगको आधा जस्तो खेल गुमाउनेछन्। त्रिकोणात्मक सिरिज जुलाई २० बाट अझ अगाडी सरेको खण्डमा सन्दिपले अझ धेरै खेल गुमाउन सक्नेछन्।
