वार्नलाई चित्त बुझेन इंग्ल्यान्ड बिरुद्ध अस्ट्रेलियाको रणनीति, “स्मिथ टि-२० टिममा हुनुहुँदैन”

२०७८ कार्तिक १४, आईतवार ११:२७

टि-२० विश्वकप अन्तर्गत आफ्नो तेश्रो खेलमा अस्ट्रेलिया इंग्ल्यान्डसंग पराजित भएपछि पूर्व अस्ट्रेलियन क्रिकेटर शेन वार्नले अस्ट्रेलियाको टिम छनोट र रणनीतिको आलोचना गरेका छन्।

सुपर-१२ चरणको समुह ‘१’ को खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले एकतर्फी खेलमा पराजित गर्यो। अस्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा जोस बटलरले ३२ बलमा ७१ रन बनाएपछि ५० बल बाँकी रहँदै इंग्ल्यान्डले जित दर्ता गर्यो। यो जित अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्डको बल बाँकी रहेको आधारमा इतिहासकै छिटो जित हो। खेलमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो १४ ओभरमा ५ विकेट गुमाएर मात्र ५७ रन बनाएको थियो। कप्तान फिंच र तल्लो क्रमले योगदान दिंदा टिमले १२५ रनको सम्मानजनक योगफल बनाउन सक्यो।

शेन वार्नले टिमको खराब रणनीति हारको कारण भएको बताए। उनले टि-२० टिममा स्टिभ स्मिथको काम नभएको र मिचेल मार्शलाई उनको स्थानमा मौका दिनु पर्ने महसुस गरेका हुन्।

“अस्ट्रेलियाको निराशाजनक छनोट। मार्शलाई बाहिर राख्नु र म्याक्सवेललाई पावरप्लेमा ब्याटिंग गराउनु। म्याक्सवेललाई सधैं पावरप्ले पछि पठाउनु पर्छ। स्टोइनिसलाई पठाउनु पर्थ्यो। अस्ट्रेलियाको खराब रणनीति र चाल। मलाई स्मिथ मन पर्छ तर उनि टि-२० टिममा हुनुहुँदैन, मार्श हुनुपर्छ।” उनले ट्वीट गरेका छन्।  यो वर्ष टि-२० क्रिकेटमा स्मिथले संघर्ष गरेका छन्। उनले यो वर्ष ७ खेलमा मात्र १५३ रन बनाउदा स्ट्राइक रेट ११३.३ मात्र रहेको छ।

अस्ट्रेलियन कप्तान आरोन फिंचले भने स्मिथको छनोटबारे सोध्दा बताए – “सबैको फरक धारणा हुन्छ। हामीले खेल जित्नकै लागि टिम छनोट गरेका हौँ।”

फिंचले स्टोइनिस र वेड हुँदा हुँदै ग्लेन म्याक्सवेललाई पावरप्ले भित्र चौंथो नम्बरमा पठाउनुको कारण बारे सोध्दा बताए – “तपाईसंग मात्र ६ जना स्पेसलिस्ट ब्याट्सम्यान छन् भने तपाईको टप-६ ब्याट्सम्यानलाई कामको लागि पठाउनु हुन्छ। त्यसैले त्यहाँ कुनै समस्या छैन। म्याक्सवेलले बिगतमा उत्कृस्ट प्रदर्शन गरेका छन्। उनि पावरप्लेमा पनि लय पाए उत्तिकै विस्फोटक छन्।”

प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले आगामी खेल नोभेम्बर ४ मा बंगलादेशसंग, नोभेम्बर ६ मा वेस्टइन्डिजसंग खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy