विश्वकप लिग-२ : ओमान त्रिकोणात्मक सिरिजको मिति सार्वजनिक

२०७८ श्रावण २८, बिहीबार १५:४९

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानमा खेल्ने आयोजक ओमान र अमेरिकासंग खेल्ने त्रिकोणात्मक सिरिजको मिति सार्वजनिक भएको छ।

आगामी महिना सेप्टेम्बर १३ तारिख देखि २० तारिखसम्म ( भदौ २८ देखि असोज ४ गते सम्म ) नेपालले ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज अन्तर्गत सहभागी तिन देशले एक अर्कासंग २/२ खेल खेल्नेछ। त्यस अघि नेपालले पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ जसको भने मिति घोषणा भएको छैन।

ओमान क्रिकेटका प्रमुख विकाश अधिकारी दुलिप मेन्डिसले टाईम्स अफ ओमानसंग कुराकानीमा त्रिकोणात्मक सिरिजको मिति पक्का भैसकेको बताएका हुन्। नेपाल र अमेरिकासंगको सिरिज पछि ओमानले स्कटल्याण्ड र पपुवा न्युगिनीसंग सेप्टेम्बर २५ देखि अक्टोबर २ तारिखसम्म विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ। त्यस अघि ओमानले भारतको रन्जी ट्रफी विजेता टिम मुम्बईसंग ३/३ वटा टि-२० र एकदिवसीयको सिरिज खेल्नेछ। मुम्बई टिम अगस्ट २० तारिखमा ओमान पुग्नेछ।

नेपाली क्रिकेट टिमले विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणको लागि तयारी सुरु गरिसकेको छ। नेपाल क्रिकेट संघले २० सदस्यीय टोलिको घोषणा गरेर कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ।

विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अन्तर्गत नेपालले यस अघि पहिलो सिरिज पनि ओमान र अमेरिकासंग घरेलु भूमिमा गत वर्ष फेब्रुअरीमा खेलेको थियो। त्यस पछि कोभिड-१९ का कारण नेपालले खेल्ने विश्वकप लिग -२ अन्तर्गतको सिरिज स्थगित हुँदै आएको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

https://www.youtube.com/watch?v=bfTBrkKj7Bk

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy