विश्वकप लिग २ मा नेपालको पहिलो जित, अमेरिका ३५ रनले पराजित

२०७६ माघ २५, शनिबार २०:२५

काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग २ मा पहिलो विजय हात पारेको छ । घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विजय हात पार्ने क्रममा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्‍यो। पहिलो खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको थियो। स्कोरकार्ड 

१ सय ९१ रनको विजय लक्ष्य लिएर आएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको नेपाल ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो।

७५ रन बनाएका इयान हल्यान्डले अमेरिकालाई विजय दिलाउन सकेनन्। उनले १ सय ११ बलको इनिङ्समा ७ चौका प्रहार गरे। ६५ रन बनाउँदा ७ विकेट गुमाएको अमेरिकाबाट क्यामरन स्टेभनसनले १९ रन बनाए।

अत्यन्त खराब सुरुवात गरेको अमेरिकाले पहिलो ५ विकेट २७ रनमै गुमाएको थियो। त्यसपछि हल्याण्डले एक किनार सम्हाल्दै अमेरिकालाई जितको आशा दिलाएका थिए। यस क्रममा उनले आठौँ विकेटको लागि क्यामरन स्टेभेनसनसंग ४९ रनको तथा नवौं विकेटको लागि इयान रस्टि थेरनसंग ३० रनको साझेदारी गरेका थिए।  तर नेपालले निरन्तर अन्तरालमा विकेट लिंदै अमेरिकालाई जितसम्म पुग्न दिएन।

नेपालबाट करण केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ७.१ ओभरमा १ मेडन गर्दै १५ रन खर्चिए। सुसन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए। केसी प्लेयर अफ द म्याच समेत चुनिए।

खेलमा अमेरिकाले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्दै अमेरिकालाई १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालको लागि बिनोद भण्डारीले ५९ तथा कुशल मल्लले ५० रन बनाए। भण्डारीले ७९ बलमा ६ चौका र १ छक्का तथा मल्लले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

एक समय नेपालले ४९ रन बनाउदा पहिलो ५ विकेट गुमाई सकेको थियो। शरद भेसावकरको सट्टा टिममा भित्रिएका सुबास खकुरेल ३ रन, कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, पारस खड्का १९ रन, दिपेन्द्र ऐरी ० तथा  आरिफ शेख २ रन बनाएर आउट भए।

छैठौं विकेटको लागि कुशल मल्ल र बिनोद भण्डारीले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए। यस क्रममा कुशल मल्ल ३९ रनमा रहंदा अमेरिकी फिल्डरले सहज क्याच मिस गरेका थिए। मल्ल ३६ औं ओभरमा करिमा गोरेबाट क्याच आउट भए।

मल्लको विकेटपछि करन केसी १२ तथा सन्दिप लामिछाने खाता नखोली आउट भए। ४८ औं ओभरमा बिनोदलाई रस्टि थेरोनले क्याच आउट गराए। सुशन भारिले ११ रन बनाउदा नेपालले योगफल १ सय ९० रन बनायो।

अमेरिकाको बलिंगमा क्यामरन स्टेभेनसनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३० रन खर्चिए। यस्तै सौरभ नेत्रवाल्कर र रस्टि थेरनले समान दुइ विकेट लिए।

सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसंग १८ रनले पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy